Dhulikhel Eco Banner new

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ शुक्रवारदेखि खुला

4.41K
shares

काठमाडौं, ३० जेठ । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले शुक्रवारदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन आईपीओमा आवेदन खुलेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आवेदन खुला गरेको हो।

यो चरणमा कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यसमध्ये १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने जानकारी दिएको छ।

प्रभावित स्थानीयले सिटिजन्स बैंकको लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका–८ स्थित महिला भवन तथा जनस्वास्थ्य भवन, र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–२ को वडा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै एनआईसी एसिया क्यापिटलको वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अनलाइन प्रणाली ुमेरोसेयरु मार्फत आवेदन दिन सक्नेछन्।

प्रभावित स्थानीयले छिटोमा असार १३ गतेसम्म तथा ढिलोमा असार २९ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित बासिन्दामा ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर २, साविक गोली गाविस वडा नम्बर १, २, ३, ४ र ५ का स्थानीय बासिन्दा पर्छन्।

हिम स्टार ऊर्जा कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ पुगेको छ।

आईपीओको पहिलो चरणपछि बाँडफाँट सम्पन्न गरी सर्वसाधारणका लागि दोस्रो चरणमा शेयर निष्कासन गरिने कम्पनीले जानकारी दिएको छ।