नेप्से पुनः संरचनाका लागि अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेश
वि.सं.२०८२ असार २६ बिहीवार १५:५९
shares

काठमाडौं, २६ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले संस्थाको पुनः संरचना गर्नका लागि अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेको छ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले यसबारे जानकारी दिँदै पुनः संरचना आवश्यकताबारे मन्त्रालयलाई विगतदेखि नै जानकारी दिँदै आएको बताएका हुन्।
उनका अनुसार, नेप्सेले कसरी पुनः संरचना गर्ने भन्ने विषयमा विस्तृत अध्ययन गरी तयार पारिएको प्रस्ताव हालै अर्थ मन्त्रालयमा पठाइएको हो। मन्त्रालयले प्रस्ताव स्वीकृत गरेपछि मात्र दोस्रो चरणको प्रक्रिया अघि बढ्नेछ।
नेप्सेले नयाँ प्रविधिसहित आधुनिक व्यवस्थापन प्रणाली लागू गर्दै संस्थागत पुँजी वृद्धि र संस्थाको कार्यसम्पादन क्षमतामा सुधार ल्याउने उद्देश्यसहित पुनः संरचना अघि बढाउने तयारी गरेको हो।


















