Dhulikhel Eco Banner new

‘हामी उच्च जोखिममा छौँ’ : बेलकाका बाढीपीडित

14.9K
shares

उदयपुर, ५ असार । चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् ।

वेलका–१ बानडाँडाका बाढीपीडित गणेश कार्की भन्नुहुन्छ, ‘गत चार वर्षअघि गिदेरी खोलाको कटानले घरखेत नष्ट ग¥यो, तर नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण हुन नसक्दा यस वर्ष पनि बाढीको चपेटामा छौँ ।’

यस्तै चार वर्षअघि बेलका–१ बानडाँडा, २ का भागलपुर क्षेत्र र तपेस्वरी क्षेत्रमा झण्डै ६०० घरपरिवार स्थानीय गिदेरी र खर्रे खोलासहितको बाढी कटानका कारण विस्थापित भएका थिए ।

चार वर्षभित्रमा पनि सम्बन्धित निकायले नदी नियन्त्रण गर्न वा तटबन्धन निर्माणमा ध्यान नदिँदा यसपटक पनि भीषण वर्षा हुने अवस्था रहेका कारण आफूहरू बाढीको उच्च जोखिममा रहेको वेलका भागलपुरका स्थानीयवासी धनप्रसाद निरौलाको गुनासो छ ।

निरौलाका अनुसार चार वर्षअघि भागलपुर क्षेत्रमा मात्र झण्डै ५० घर बाढीबाट वर्षायाममा विस्थापित भएको र ५०० घर प्रभावित भएको थियो । तर अहिले पनि नदी नियन्त्रण तथा स्थायी तटबन्धन निर्माणमा सम्बन्धित जनप्रतिनिधि र जिल्ला दैवी प्रकोप समितिले उचित ध्यान नदिएका कारण बस्ती बाढीकोे उच्च जोखिममा परेको उनी बताउछन् ।

तीन वर्षअघि पनि त्रियुगा नदीमा बाढी आउँदा नेपाली सेनाले अस्थायी तटबन्धन निर्माण गरिदिएको थियो । सोही कारण हालसम्म सुरक्षित रहेको तर गत वर्षदेखि फेरि अस्थायी तटबन्धन भत्कन थालेपछि आफूहरू असुरक्षित हुन परेको बानडाँडाका स्थानीय राजकुमार बस्नेत गुनासो गर्छन् ।

बस्नेत भन्छन्, ‘नदी क्षेत्रमा स्थायी बाँध तथा तटबन्धन छैन, अहिले दैनिक वर्षाका कारण नदीको बहाव बढेर आउन थालेको छ । गाउँका ६०० घरपरिवार रात्रिका समयमा बाढीको डरले नसुतीकन रात काट्ने गरेका छन् ।’

अहिले दैनिक वर्षा हुन थालेको र नदीको बहाव बढ्न थालेकोले खोला नदीमा बाढी आउन सुरु गरेको छ । कुनबेला गाउँमा बाढी पसेर बिगार गर्ने हो भन्ने खतरामा आफूहरू रहेको वानडाँडा तथा भागपुरवासीले दुःखेसो गर्दै आएका छन् । प्रशासन तथा स्थानीय तहले बाढी आएर क्षति ग¥यो भने दुई/चार केजी चामल र एक/दुई वडा भाँडा त्रिपाल मात्र बाँड्न आउने गरेको तर आफूहरूका क्षेत्रमा नदी कटान नियन्त्रण गर्न पहल भने नगरेको गुनासो आम बानडाँडाका बासिन्दाको गुनासो छ ।

यस वर्ष पनि व्यापक वर्षा हुन थालेपछि स्थानीय खोलानाला र नदीमा पानीको बहाव बढ्न थालेका कारण बेलकाको वानडाँडा र भागलपुर क्षेत्रका जनता बाढीको उच्च जोखिममा रहेका छन् ।