Dhulikhel Eco Banner new

नेप्सेमा साउन १ गतेदेखि अड लट आदेश देखिने व्यवस्था लागू

2.02K
shares

काठमाडौं, १ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साना तथा खुद्रा लगानीकर्ताको सुविधालाई ध्यानमा राख्दै अड लटआदेशहरू साउन १ गतेदेखि आफ्नो वेबसाइटमा देखिने व्यवस्था लागू गरेको छ। अबदेखि लगानीकर्ताहरूले नेप्सेको वेबसाइटमा ‘मार्केट डेप्थ’ मार्फत दैनिक रूपमा अड लट अन्तर्गत राखिएका खरिद तथा विक्री आदेशहरू अवलोकन गर्न सक्नेछन्।

नेप्सेको यो कदमले लामो समयदेखि अड लटका धितोपत्रको व्यापारप्रति पारदर्शिता अभाव भएको भन्दै उठ्दै आएको गुनासोलाई सम्बोधन गर्ने विश्वास गरिएको छ। यसअघि अड लटका आदेशहरू सार्वजनिक रूपमा देखिने व्यवस्था नहुँदा व्यवहारिक रूपमा खरिदबिक्रीमा कठिनाइ उत्पन्न भएको थियो।

धितोपत्र कारोबार विनियमावली, २०७५ अनुसार, धितोपत्रको अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता, १०० रुपैयाँ भएमा १० कित्ता, र १००० रुपैयाँ भएमा १ कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ। सोभन्दा कम परिमाणमा हुने कारोबार भने अड लट अन्तर्गत पर्छ।

विनियमावलीले अड लट कारोबारलाई मूल्य परिवर्तन सीमा तथा नेप्से परिसूचक गणनामा समावेश नगर्ने प्रावधान गरेको छ। साथै, बोर्ड लटका धितोपत्रलाई टुक्र्याएर अड लट बनाउने अनुमति छैन।

नेप्सेले वेबसाइटमार्फत अड लट कारोबारलाई थप पारदर्शी बनाउँदै साना तथा खुद्रा लगानीकर्ताको पहुँच सहज बनाउने प्रयास गरेको जनाएको छ। यसबाट अड लटका धितोपत्रहरू पनि व्यवहारिक रूपमा खरिदबिक्री गर्न सकिने वातावरण तयार हुने अपेक्षा गरिएको छ।