पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जाने, प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर
वि.सं.२०८२ साउन ४ आइतवार १२:०५
shares

काठमाडौं, ४ साउन । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आपसमा गाभिने (मर्जर) प्रक्रिया अघि बढाएका छन्। दुबै कम्पनीले आइतबार बिहान प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
पोखरा फाइनान्सको मुख्य कार्यालय पोखरामा रहेको छ भने समृद्धि फाइनान्सको मुख्य कार्यालय हेटौंडामा रहेको छ। मर्जरपछि बन्ने नयाँ संस्थाको नाम, स्वाप अनुपात (शेयर साटासाटको अनुपात) लगायतका विषयहरू औपचारिक रूपमा सार्वजनिक नगरिएको भए पनि प्रारम्भिक छलफल अनुसार १:१ अनुपातमै शेयर साटासाट हुने सहमति भएको बताइएको छ।
हाल पोखरा फाइनान्ससँग देशभर २४ वटा शाखा रहेका छन्। कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ४८ रुपैयाँ ७५ पैसा छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले प्रतिशेयर ८ रुपैयाँ नाफा कमाएको देखिन्छ।
त्यस्तै, समृद्धि फाइनान्ससँग ८१ करोड ८९ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ र कम्पनीका १४ वटा शाखाहरू विभिन्न स्थानमा सञ्चालनमा छन्। गत चैत मसान्तसम्म समृद्धिको प्रतिशेयर नेटवर्थ ५३ रुपैयाँ ६३ पैसा रहेको छ तर कम्पनी नोक्सानीमा रहेको छ।
मर्जरको प्रक्रियाबाट दुवै संस्थाको वित्तीय हैसियत मजबुत हुने, सेवा विस्तारमा सहजता आउने र लगानीकर्ताको विश्वास बढ्ने अपेक्षा गरिएको छ। अब नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति, सम्पत्ति मूल्यांकन, लेखापरीक्षण लगायतका प्रक्रियाहरू पुरा गरेपछि अन्तिम गाभिने प्रक्रिया अघि बढ्नेछ।



















