नेपालमा स्मार्टफोन आयातमा तीव्र वृद्धि, एक वर्षमै २१ लाखभन्दा बढी मोबाइल भित्रिए
वि.सं.२०८२ साउन ६ मंगलवार १४:३८
shares

काठमाडौं, ६ साउन । नेपाली बजारमा स्मार्टफोनको माग दिनप्रतिदिन बढ्दै गएको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले २१ लाख ८४ हजार ६९४ युनिट स्मार्टफोन आयात गरेको छ ।
२०८०/८१ मा नेपालले १८ लाख ३९ हजार ३५ युनिट स्मार्टफोन आयात गरेको थियो। यो वर्ष आयात संख्या मात्र होइन, आयात खर्चमा पनि भारी वृद्धि भएको देखिन्छ। भन्सार विभागका अनुसार, ३५ अर्ब ५४ करोड ७३ लाख रुपैयाँभन्दा बढीको स्मार्टफोन नेपाल भित्रिएको छ।
स्मार्टफोन आपूर्तिमा चीन सबैभन्दा अगाडि रहेको छ। कुल आयातमध्ये १७ लाखभन्दा बढी स्मार्टफोन चीनबाट ल्याइएको हो। बाँकी मोबाइलहरू भारत, जापान, क्यानडा, मलेसिया, बहराइन, अष्ट्रेलिया, बंगलादेश, डेनमार्क, कुवेतलगायत विभिन्न देशबाट नेपाल भित्रिएको विभागले जनाएको छ।



















