दोर्दी खोला जलविद्युतको दोस्रो लिलामी शेयर बाँडफाँड, कट अफ प्राइस २८३ रुपैयाँ कायम
वि.सं.२०८२ साउन ८ बिहीवार १०:५०
shares

काठमाडौं, ८ साउन । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दोस्रो पटक लिलामीमा राखिएको अवितरित हकप्रद शेयरको बाँडफाँड सम्पन्न गरेको छ।
कम्पनीले यसअघि जारी गरेको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयरमध्ये १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बिक्री हुन नसकी बाँकी रहेको थियो।
यी बाँकी शेयरमध्ये संस्थापकतर्फ लकइनमा नरहेका १२ लाख ८५ हजार ४९ कित्ता, सर्वसाधारणतर्फ लकइनमा नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता, र सर्वसाधारणतर्फ लकइनमा रहेका १ लाख ६५ हजार ९५६ कित्ता शेयर लिलामीमा राखिएको थियो।
पहिलो लिलामी चरणमा जेठ ११ गतेदेखि २० गतेसम्म आवेदन खुला गरिएपछि पनि ९३ हजार ६२९ कित्ता शेयर बिक्री हुन सकेनन्। त्यसपछि बाँकी शेयरलाई कम्पनीले असार २४ देखि ३२ गतेसम्म पुनः लिलामीमा राखेको थियो।
यस लिलामीमा प्राप्त बोलपत्रहरूको मूल्याङ्कन गरी कम्पनीले साउन ७ गते बाँडफाँड गरेको हो। लिलामीमा कट अफ प्राइस २८३ रुपैयाँ कायम भएको छ। उक्त मूल्यमा बोलपत्र पेस गर्ने आवेदकहरूलाई सापेक्षिक भारको आधारमा समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।


















