चिया निर्यातमा ३२.५० प्रतिशत वृद्धि, मेची भन्सारबाट २५ अर्बको निर्यात
वि.सं.२०८२ साउन ११ आइतवार १३:२८
shares

काठमाडौं, ११ साउन । आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सार कार्यालयबाट भएको कुल निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। कार्यालयका अनुसार साउनदेखि असार मसान्तसम्मको अवधिमा मात्रै रु २५ अर्ब १३ करोड ९७ लाख ५० हजार बराबरको विभिन्न मालवस्तु निर्यात भएको छ।
निर्यात वस्तुहरूमा सबैभन्दा ठूलो वृद्धिदर चियामा देखिएको छ। भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार गत वर्षको तुलनामा चिया निर्यात ३२.५० प्रतिशतले बढेर रु ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार पुगेको हो। कुल १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको थियो। अघिल्लो वर्ष यो आँकडा रु ३ अर्ब १७ करोड ९५ लाख २७ हजार थियो।
तर, चियामा वृद्धि भए पनि अलैँची निर्यातमा भने गिरावट आएको छ। आर्थिक वर्ष २०८१/८२ मा रु ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएकोमा अघिल्लो वर्ष सो आँकडा रु ७ अर्ब ९३ करोड ९ लाख ९० हजार थियो। यसअनुसार अलैँची निर्यातमा ३.२० प्रतिशत कमी आएको हो।
अन्य वस्तुहरूमध्ये भेनियर सिटको निर्यात ७२.३० प्रतिशत, मोलासिसको २४७.५० प्रतिशत, प्लाइउडको ७.६० प्रतिशत र फलामे पाताको १.८० प्रतिशतले बढेको छ।
तर, सिमेन्ट क्लिङ्करको निर्यात १३ प्रतिशत, अदुवाको ६०.७० प्रतिशत, अम्रिसोको १४.९० प्रतिशत र छुर्पीको १.०५ प्रतिशतले घटेको छ।
मेची भन्सार कार्यालयको आँकडाले देखाउँछ कि पूर्वी नेपालबाट हुने कृषि तथा कच्चा पदार्थहरूको निर्यातमा केही उतारचढाव भए पनि समग्रमा निर्यातको परिमाणमा सुधार आएको छ।



















