Dhulikhel Eco Banner new

धादिङकी पार्वती कार्की बनिन् एनसेल करोडपति

1.65K
shares

काठमाडौं, ११ साउन । एनसेलको ‘सधैं अन करोडपति’ योजनाबाट धादिङ गंगाजमुना गाउँपालिका–६ की पार्वती कार्कीले बम्पर पुरस्कारस्वरूप एक करोड रुपैयाँ जितेकी छन्। विगत आठ वर्षदेखि एनसेल प्रयोग गरिरहेकी कार्कीले रु ९९ को ‘बेसिक रिन्युअल प्याक’ खरिद गरेपछि योजनामा स्वतः सहभागी भएकी थिइन्।

कार्कीको जीवन कठिन संघर्षको कथाले भरिएको छ। वि.सं. २०७२ को महाभूकम्पमा एक महिना दुई दिनको छोरा गुमाएकी उनले त्यसपछिको जीवन ऋण र विपत्तिको चपेटामा बिताइन्। घर पनि भत्किएपछि श्रीमानलाई वैदेशिक रोजगारीमा पठाउनुको विकल्प थिएन। श्रीमान हाल बहराइनमा कार्यरत छन् भने छोरा काठमाडौंमा कक्षा १२ मा अध्ययनरत छन्।

एनसेलले शुक्रबार राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममा चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले पार्वती कार्कीलाई बम्पर पुरस्कार हस्तान्तरण गरे। पुरस्कार ग्रहण गर्दै कार्कीले भनिन्, “मैले जीवनमा कहिल्यै नसोचेको कुरा हो यो। दुःख भोगे पनि कर्ममा विश्वास गरेकी थिएँ। अब यो पुरस्कारले हामीलाई नयाँ सुरुवात गर्न मद्दत गर्छ।”

उनले यो रकम श्रीमानसँग मिलेर नेपालमै उद्यम गर्ने, छोरो पढाइमा लगानी गर्ने र बाँकी रहेका ऋण तिर्न प्रयोग गर्ने बताइन्।

एनसेलको यो योजना असार १ देखि असार ३२ गतेसम्म लागू भएको थियो। यो योजनामा सहभागी ग्राहकहरूमध्ये ५० जनाले साप्ताहिक रूपमा जनही १ लाख रुपैयाँ नगद जितेका छन्।
हालसम्म ३६ जनालाई पुरस्कार हस्तान्तरण गरिसकिएको एनसेलले जनाएको छ भने बाँकी विजेताहरूलाई प्रमाणिकरणपश्चात् पुरस्कार प्रदान गरिनेछ।

एनसेलका सीएफओ कबिरले भने, “पार्वती कार्कीको कथा आशाको कथा हो। उहाँजस्तो व्यक्तिलाई जीवनको कठिन मोडमा साथ दिन पाउँदा हामी गर्व गर्छौं। उहाँले आफ्नो सपना साकार पार्न यो पुरस्कार सदुपयोग गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं।”

यो योजनामार्फत एनसेलले ग्राहकहरूप्रति गरेको वाचा पूरा गरेको बताउँदै कम्पनीले भविष्यमा पनि उपभोक्तामैत्री योजना ल्याइरहने प्रतिबद्धता जनाएको छ।