नाडा अटो शो २०२५ भदौ ३ देखि ८ गतेसम्म आयोजना हुने, पहिलोपटक उड्ने सवारीसाधन र चारपांग्रे रोबोट प्रदर्शन हुने
वि.सं.२०८२ साउन २० मंगलवार १५:०१
shares

काठमाडौं, २० साउन । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२५’ भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले उक्त मितीमा भृकुटीमण्डपमा अटो शो आयोजना गरिने भएको हो।
उक्त अटो शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ। ‘गो फर मोर’ भन्ने नाराका साथ सञ्चालन हुने यस वर्षको अटो शोमा नवप्रविधि, दिगोपन, स्मार्ट मोबिलिटी र समग्र अटोमोटिभ पारिस्थितिकी प्रणालीलाई समेट्ने तयारी गरिएको छ।
प्रदर्शनीमा चारपांग्रे, दुईपांग्रे तथा हल्का व्यावसायिक सवारीसाधन, ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायक लगायत १२५ भन्दा बढी प्रदर्शक सहभागी हुने छन्।
प्रदर्शनी ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिएको छ भने सो मध्ये १ लाख ६२ हजार ५ सय वर्गफुटमा प्रदर्शनी क्षेत्र राखिएको छ। आयोजकले एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा राखेको छ।
यस वर्षको अटो शोमा युनिक प्रविधिहरू सार्वजनिक गरिने आयोजकले जनाएको छ। पहिलो पटक युनिट्री कम्पनीका अत्याधुनिक चारपांग्रे रोबोट तथा डीपाल भख्त्इी ग्ब्ख् नामक उड्ने सवारीसाधन ९सहरी हवाइ मोबिलिटी० नेपाली दर्शक सामु प्रदर्शन गरिनेछ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड र ३५ वटा अटो पार्ट्स तथा सहायक सेवा प्रदायक कम्पनीहरू सहभागी हुनेछन्।
सुरक्षालाई उच्च प्राथमिकता दिइएको प्रदर्शनीमा आगन्तुकहरूको सहजता र सुरक्षाका लागि क्षेत्रगत जोन विभाजन, ट्राफिक सूचना डेस्क, सञ्चारकर्मीका लागि मिडिया डेस्क, आपतकालीन स्वास्थ्य सेवा, निगरानी तथा दमकल सेवा जस्ता सुविधाहरूको व्यवस्था गरिएको छ।
प्रदर्शनीको अर्को मुख्य आकर्षण ऐतिहासिक सवारी साधनहरूको प्रदर्शनी ‘विन्टेज मोटर शो’ रहेको छ। उक्त प्रदर्शनीमा मोरिस माइनर, फियाट, मर्सिडिज, टोयोटा आरटी४०, बीटल, मिनी कुपर, भिएडब्लु बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया र टोयोटा एमआर२ जस्ता पुराना सवारी साधनहरू प्रदर्शन गरिनेछ।
त्यस्तै ‘मेड इन नेपाल प्याभिलियन’ मा स्वदेशमै निर्माण भएका सवारी साधन र अटो पार्ट्स प्रदर्शित गरिनेछ भने ‘इन्टरनेशनल बिजनेस प्याभिलियन’ ले अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रदर्शनी अवधिभर दैनिक भाग्यशाली विजेता कार्यक्रम पनि सञ्चालन हुनेछ जसअनुसार १२ जना भाग्यशाली आगन्तुकहरूले एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्राप्त गर्नेछन्।
नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ नेपाली अटोमोबाइल क्षेत्रका सबै सरोकारवालाहरूका लागि विशेष अवसर भएको बताएका छन् र आम सर्वसाधारणलाई उपस्थित भई नवीनतम प्रविधिको अवलोकन गर्न आह्वान गरेका छन्।
















