नेपाल लाइफ इन्स्योरेन्सको तीनदिने अभिकर्ता सम्मेलन भव्य रूपमा सम्पन्न
वि.सं.२०८२ साउन २२ बिहीवार १८:११
shares

काठमाडौं, २२ साउन । नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको तीनदिने राष्ट्रिय अभिकर्ता सम्मेलन राजधानीको सोल्टी होटेलमा भव्य रूपमा सम्पन्न भएको छ। “लायन वर्षः लिड, गर्जन, दोहोर्याउनुस्” भन्ने नाराका साथ साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० जना अभिकर्ता र एजेन्सी प्रबन्धकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा बोल्दै सञ्चालक अग्रवालले आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले पहिलो बीमा शुल्कतर्फ १० अर्ब रुपैयाँको कोसेढुङ्गा पार गर्न सफल भएकोमा सबै अभिकर्ता र कर्मचारीलाई बधाई तथा धन्यवाद दिए। त्यस्तै सञ्चालक विमल ढकालले आर्थिक मन्दीको समयमा पनि अभिकर्ताहरूले देखाएको उत्कृष्ट व्यवसायिक प्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रेरणा लिनुपर्ने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले सबै सम्मानित अभिकर्तालाई बधाई तथा शुभकामना दिनुका साथै चालु आर्थिक वर्ष २०८२र८३ को व्यापार लक्ष्य पुरा गर्न सुरुदेखि नै दत्तचित्त भएर लाग्न आग्रह गरे। उनले नयाँ वर्षमा कम्पनीले अवलम्बन गर्ने बिक्री रणनीतिका विषयमा पनि जानकारी दिए।
कार्यक्रममा कम्पनीका राष्ट्रिय बिक्री प्रमुख उमापति पोखरेलले गत वर्षको सफलताको श्रेय सम्पूर्ण अभिकर्ता, बिक्री टोली र कर्मचारीलाई दिँदै धन्यवाद ज्ञापन गए। उनले कम्पनीले आन्तरिक संरचनामा परिवर्तन गरी सेवा प्रवाहलाई अझ चुस्त र सहज बनाएको जानकारी दिए।
पेशागत बीमा अभिकर्ता संघ नेपाल–बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले पनि सबै अभिकर्ता तथा कर्मचारीलाई धन्यवाद दिँदै आगामी वर्षको लक्ष्य प्राप्तिका लागि प्रतिबद्ध रहेको अभिव्यक्ति दिए।
पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा अब्बल र दक्ष रहेको उल्लेख गर्दै अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै बीमाको पहुँच विस्तार गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको प्रमुख आकर्षणमध्ये एक, सम्मान तथा पुरस्कार वितरण समारोहमा १११ जना एजेन्सी मेनेजर र ३२९ जना व्यक्तिगत कोड भएका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।
त्यसैगरी, ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक, र २५७ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको थियो।
एजेन्सी मेनेजरतर्फबाट नेपाल प्रथम मदन भट्ट, दोस्रो स्नेहा भट्ट, र तेस्रो बसन्ती शर्मा तथा व्यक्तिगत कोडतर्फबाट नेपाल प्रथम सुमित्रा भट्ट, दोस्रो अर्बिन राजबंशी, र तेस्रो आयुष कुँवरलाई नगदसहितको पुरस्कारले सम्मान गरिएको थियो।
तीन दिनसम्म चलेको कार्यक्रममा मोटिभेसनल वक्ता तथा हास्य कलाकार सन्दीप क्षेत्रीको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।


















