Dhulikhel Eco Banner new

शेयर किनबेचको सल्लाह दिने भ्रामक सामग्रीबाट सावधान रहन नेप्सेको आग्रह

2.02K
shares

काठमाडौं, ३ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सामाजिक सञ्जालमार्फत शेयर कारोबार गर्न उक्साउने र सिफारिस गर्ने गतिविधि गैरकानुनी रहेको स्पष्ट पारेको छ। नेप्सेले एक सूचना प्रकाशित गर्दै शेयर बजारसम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, नक्कली भिडियो र अडियो, स्टक टिप्स तथा किनबेचका सिफारिसहरू सामाजिक सञ्जालमा देखिन थालेकोप्रति चिन्ता व्यक्त गरेको हो।

नेप्सेमा प्रकाशित सूचनाअनुसार, ‘नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा विक्री गर्ने मूल्य नतोक्ने प्रष्ट पार्न चाहन्छौं।’

हाल केही व्यक्ति तथा समूहहरूले नेप्सेको नाम र लोगो दुरुपयोग गरी वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल पेज तथा च्याट समूहहरू सञ्चालन गरिरहेका नेप्सेले जनाएको छ । यस्ता माध्यमहरूबाट भ्रामक सूचना फैलाउने, व्यक्तिगत विवरण माग्ने र पासवर्ड सोध्ने कार्यहरू भइरहेको भन्दै नेप्सेले कडा चेतावनी दिएको छ।

‘नेप्सेको नामसँग मिल्दोजुल्दो बनाएर चलाइएका वेबसाइट, एप, च्याट समूह वा अन्य माध्यमहरू पूर्णतः अनधिकृत र दण्डनीय छन्,’ सूचना मार्फत नेप्सेले जनाएको छ।

साथै, नेप्सेले शेयर कारोबार गर्दा अनधिकृत सल्लाह, हल्ला, टेलिग्राम, क्लब हाउस, च्याट समूहजस्ता अनौपचारिक माध्यमहरूमा भर नपर्न लगानीकर्ताहरूलाई विशेष आग्रह गरेको छ। नेप्सेले आफ्ना सूचना तथा प्रेस नोटहरू केवल आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत मात्र सार्वजनिक गर्ने गरेको स्पष्ट पारेको छ।