Dhulikhel Eco Banner new

एनआइएमबि एस क्यापिटल, पाइनर एल एसोसिएट र इक्रा नेपालको सहकार्यमा ‘रोड टु आईपीओ कार्यशाला सम्पन्न

1.76K
shares

काठमाडौं, १६ भदौ । एनआइएमबि एस क्यापिटलले पाइनर एल एसोसिएट र इक्रा नेपालसँगको सहकार्यमा ‘रोड टु आईपीओ’ नामक कार्यशाला २०२५ अगस्ट २९ मा काठमाडौंस्थित होटल अलफ्टमा सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमको उद्देश्य प्राथमिक सार्वजनिक निष्काशन आइपिओको माध्यमबाट कम्पनीलाई धितोपत्र बजारमा सूचिकृत गर्न चाहने कर्पोरेट संस्थाहरूलाई आवश्यक कानुनी, वित्तीय र रणनीतिक जानकारी प्रदान गर्नु रहेको आयोजक संस्थाहरूले जनाएका छन्।

कार्यक्रमको उद्घाटन एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले गरे। उनले आईपीओले कम्पनीको दीर्घकालीन रणनीति निर्माण, पूँजी संकलन र समग्र आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान गर्ने उल्लेख गरे।

पाइनर एल एसोसिएटका म्यानेजिङ पार्टनर अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानुनी प्रक्रिया र नियामकीय प्रावधानहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।

एनआइएमबि एस क्यापिटलका डिपुटी सिईओ सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, निष्काशनको उचित समय निर्धारण, पूँजी संरचना, मूल्य निर्धारण र समग्र प्रक्रियागत समयरेखा जस्ता पक्षहरूमा चर्चा गरे।

त्यसैगरी, इक्रा नेपालका रेटिङ डिभिजन प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय अवस्थाले कसरी क्रेडिट रेटिङ्ग र लगानीकर्ताको मनोविज्ञानमा असर पार्दछ भन्ने विषयमा महत्वपूर्ण प्रस्तुति दिए।

यस पहलमार्फत एनआइएमबि एस क्यापिटल, पाइनर एल एसोसिएट र इक्रा नेपालले वित्तीय साक्षरताको प्रवर्द्धन, संस्थागत सुशासनको सुदृढीकरण र नेपाली व्यवसायहरूलाई पूँजी बजारमा सूचिकृत हुन प्रोत्साहित गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएका छन्।

कार्यशालामा कर्पोरेट क्षेत्रका विभिन्न प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले उक्त कार्यक्रमलाई अझ अर्थपूर्ण र प्रभावकारी बनाएको आयोजकहरूको भनाइ छ।