माइकल फोले एनसेलका नयाँ सीईओ नियुक्त
वि.सं.२०८२ कात्तिक ९ आइतवार १५:०६
shares

काठमाडौं, ९ कार्तिक । नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा माइकल फोलेलाई नियुक्त गरेको छ। फोलेको यो नियुक्ति कार्तिक १५, २०८२ देखि लागू हुने कम्पनीले जनाएको छ ।
नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका रूपमा कार्यरत सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ) को जिम्मेवारी निरन्तर सम्हाल्ने भएका छन् ।
दुई दशकभन्दा बढी समयदेखि दूरसञ्चार क्षेत्रमा कार्यरत माइकल फोले अनुभवी र दक्ष नेतृत्वकर्ता मानिन्छन्। उनले यसअघि विभिन्न देशका प्रमुख टेलिकम कम्पनीहरूमा उच्च तहको नेतृत्व सम्हाली उत्कृष्ट सफलता हासिल गरिसकेका छन्। एनसेलमा आवद्ध हुनुअघि फोले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखका रूपमा कार्यरत थिए, जहाँ उनले सातवटा अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनले टेलिनोर पाकिस्तान (टीपी) का सीईओका रूपमा काम गर्दै कठिन व्यवसायिक परिस्थितिमा समेत कम्पनीलाई नाफा, बजार वृद्धि र कर्मचारी संलग्नताको दृष्टिले अग्रणी स्थानमा पुर्याएका थिए ।
फोलेका अघिल्ला नेतृत्व भूमिकामा ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया) का सीईओ पद पनि समावेश छन् । ती पदमा रहँदा उनले कम्पनीमा उल्लेखनीय सुधार ल्याउँदै ग्राहक संख्या ७ करोडभन्दा माथि पु¥याएका थिए र कम्पनीको आम्दानी तथा नाफामा उल्लेखनीय वृद्धि गर्न सफल भएका थिए। उनले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान) का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षका रूपमा पनि काम गरेका छन् । हाल फोले अफ्रिकाको अग्रणी माइक्रोफाइनान्स कम्पनी वाटु माइक्रोफाइनान्स समूह अन्तर्गतको वाटु डीआरसी एसएका अध्यक्षका रूपमा कार्यरत छन् ।
एनसेलको जिम्मेवारी सम्हाल्दै फोलेले काठमाडौंमा नियुक्त हुन पाउँदा आफू अत्यन्त खुशी र सम्मानित महसुस गरिरहेको बताएका छन् । उनले भने, “एनसेल नेपालको आर्थिक प्रतिस्पर्धात्मकता र डिजिटल रूपान्तरणको महत्वपूर्ण आधार हो । आजको डिजिटल र कृत्रिम बुद्धिमत्तायुक्त युगमा दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र होइनन्, उनीहरूले समाजको डिजिटल संरचना बुन्ने जिम्मेवारी पनि निर्वाह गरिरहेका छन्। यसैले, राष्ट्रको सेवा गर्न, हाम्रा सेवाहरू सुदृढ बनाउन र आगामी पुस्तालाई सशक्त बनाउन यी सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु अत्यावश्यक छ।”
एनसेलको सञ्चालक समितिले फोलेको नियुक्ति स्वागत गर्दै उनको अनुभव र रणनीतिक दृष्टिकोण कम्पनीको रूपान्तरण र दीर्घकालीन विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ। समितिले भनेको छ, “हामी फोलेलाई एनसेलको नेतृत्वमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं। उनको अनुभव र दृष्टिकोणले कम्पनीलाई नयाँ उचाइमा पुर्याउनेछ । माइकल फोले क्यानडा र केन्या दुबैको नागरिक हुन्। उनले म्याकगिल विश्वविद्यालयबाट स्नातक र इनसीएड बाट ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा कार्यकारी प्रमाणपत्र प्राप्त गरेका छन् ।
सन् २००४ मा स्थापना भई २००५ देखि सेवा प्रदान गर्दै आएको एनसेल नेपालकै पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो। कम्पनीले नेपाली उपभोक्तालाई उत्कृष्ट र भरपर्दो दूरसञ्चार सेवा प्रदान गर्दै देशको डिजिटल रूपान्तरणमा योगदान दिँदै आएको छ। डिसेम्बर १, २०२३ मा बेलायतस्थित स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटा ग्रुप बरहाद अन्तर्गतको आजियाटा यूकेबाट रेनल्ड्स होल्डिङ्स लिमिटेडको सम्पूर्ण स्वामित्व प्राप्त गरेको थियो। रेनल्ड्सको एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको छ ।
एनसेल नेपालका ठूला करदातामध्ये एक हो । कम्पनीले स्थापना पश्चात हालसम्म कर र शुल्कका रूपमा ३६० अर्ब रुपैयाँभन्दा बढी रकम सरकारलाई तिरेको छ। साथै, एनसेल फाउन्डेशनमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, कला र संस्कृतिको संरक्षणलगायतका क्षेत्रमा विभिन्न सामाजिक परियोजनाहरू सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत कम्पनीले अहिलेसम्म दुई अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ। यी पहलहरूले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सरकारी प्रयासमा महत्वपूर्ण सहयोग पु¥याइरहेका छन् ।



















