Dhulikhel Eco Banner new

बीमालाई सामाजिक अभियानका रूपमा अगाडि बढाउँदै बुटवलका सुवास रिजाल

2.51K
shares

काठमाडौं, २० कार्तिक। नेपालमा गरिबी घटाउने सबैभन्दा प्रभावकारी माध्यमका रूपमा बीमालाई लिँदै बुटवलका सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर सुवास रिजालले यसलाई सामाजिक अभियानको रूपमा अगाडि बढाइरहेका छन् ।

सात वर्षदेखि जीवन बीमा व्यवसायमा संलग्न रिजालले बीमालाई आम नागरिकको जीवनसँग जोडेर गाउँ–गाउँसम्म पुर्‍याउने लक्ष्य लिएका छन्। कपिलबस्तुमा जन्मिएका र समाजशास्त्रमा स्नातकोत्तर रिजालले कोरियामा पाँच वर्ष काम गरेर फर्किएपछि जीवनको अनिश्चितताबाट सिक्दै बीमा पेशामा प्रवेश गरेका हुन् ।

सन् २०१८ तिर पाल्पाको सिद्धबाबा नजिक भएको पहिरो घटनाले उनलाई गहिरो प्रभाव पारेको थियो। सोही घटनाले जीवन जोखिममा परेको बेला आर्थिक सुरक्षा कति जरुरी हुन्छ भन्ने अनुभूति गराएको उनले बताउँछन्। उनले आफ्नै परिवारको बीमा गर्दै बीमा अभिकर्ताको रूपमा सानिमा रिलायन्स लाइफमा करियर सुरु गरे ।

रिजालका अनुसार सुरुवाती समयमा उनले बुटवलका प्रतिष्ठित व्यक्तिहरूको बीमा गरे पनि पछि सामाजिक उत्तरदायित्व बोध गर्दै ग्रामीण बस्तीहरूमा बीमा अभियान सञ्चालन गर्न थाले। उनले कपिलबस्तुका गाउँ गाउँमा पुगेर सामान्य आम्दानी भएका मानिसलाई पनि बीमाको महत्व बुझाउँदै बीमा गराउन प्रेरित गरे।

कोभिड १९ महामारीअघि सुरु भएको उनको अभियानले महामारीपछि अझ प्राविधिक र सामाजिक रुपले बल पायो । उनका अनुसार धेरै मानिसले बीमाको प्रस्ताव अस्वीकार गरेपछि जीवन जोखिममा पर्दा ठूलो आर्थिक क्षति व्यहोरेका छन्, जसले उनलाई अझै जोशका साथ यो पेशामा टिकिरहन प्रेरित गरेको छ।

रिजालका अनुभवमा बीमा अभिकर्ताको काम केवल व्यवसाय नभई समाजसेवा हो। “यदि गाउँका सामान्य नागरिकले सानो रकम बचत गरेर बीमा गर्न सके भने आकस्मिक संकटमा परिवार सडकमा आउनु पर्ने अवस्था रहँदैन,” उनले भने । उनले ग्रामिण भेगका बाख्रा पालन गर्ने, खेती गर्ने र श्रमिक वर्गका परिवारलाई पनि बीमा गर्न प्रोत्साहित गर्दै आएका छन् ।

“यदि कुनै व्यक्तिले दैनिक एक पान वा चुरोटको पैसा बचत गर्न सक्यो भने पाँच लाखको बीमा गर्न सक्छ,” उनको भनाइ छ। रिजालले हालसम्म हजारौं व्यक्तिको बीमा गराइसकेका छन् र सयौं अभिकर्ता तयार पारिसकेका छन्। सन् २०२२ मा उनी योग्य एजेन्सी बन्न सफल भए भने २०२३ मा उनकी श्रीमती राधिका पोखरेल पनि एमडिआरटि योग्य हुन सफल भएकी छिन्।

उनले ग्रामीण र शहरी क्षेत्र जोड्ने बीमा सञ्जाल विस्तार गर्दै अब देशभर एजेन्सी निर्माण गर्ने लक्ष्य लिएका छन्। उनका अनुसार बीमाले केवल आर्थिक सुरक्षा होइन, सामाजिक रुपान्तरण पनि सम्भव बनाउँछ। “यदि सबै नागरिकले समयमा बीमा गरे भने समाजमा आर्थिक स्थायित्व आउँछ, बचतको संस्कार बढ्छ, अनि गरिबी घट्छ,” रिजालको निष्कर्ष छ। सामाजिक चेतना र आर्थिक सुरक्षालाई एउटै सूत्रमा बाँध्दै उनले बीमालाई ‘महाअभियान’ का रूपमा निरन्तर अगाडि बढाइरहेका छन्।