ग्रीनेदी इनर्जीले आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल
वि.सं.२०८२ मंसिर २ मंगलवार ११:४४
shares

काठमाडौं , २ मंसिर । ग्रीनेदी इनर्जी लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। उक्त प्रक्रिया सहज बनाउन कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको हो।
नियुक्तिसम्बन्धी सम्झौता मंसिर १ गते सम्पन्न भएको हो। सम्झौतामा ग्रीनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष युरेश मान कायस्थ र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन्।
कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको छ। ग्रीनेदी इनर्जीले कास्की जिल्लाको इदी खोलामा अवस्थित ‘इदी खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०८२ वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याएर व्यावसायिक उत्पादन गरिरहेको छ।
कम्पनीमा बैंकिङ्, जलविद्युत, बिमा तथा पूँजी बजार क्षेत्रमा अनुभव तथा विशेष दक्षता भएका व्यक्तिहरूको संलग्नता रहेको बताइएको छ। आयोजना क्यु–६५ को संरचनामा निर्माण गरिएको हो, जसलाई स्थिर र दिगो जलप्रवाहमा आधारित सुरक्षित डिजाइन मानिन्छ।
अध्यक्ष युरेश मान कायस्थका अनुसार ग्रीनेदी इनर्जी लिमिटेडले आगामी दिनमा अन्य जलविद्युत आयोजना सहित सौर्य तथा हरित उर्जामा पनि लगानी विस्तार गर्ने योजना अघि बढाइरहेको छ।



















