इम्बार्क अनम्याथ र प्रीमियर स्कुलद्वारा एनपिएल थीममा गणित अक्शन कार्यक्रम सम्पन्न
वि.सं.२०८२ मंसिर १४ आइतवार १६:१३
shares

काठमाडौं, १४ मंसिर । इम्बार्क अनम्याथले प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्यूम स्कुलसँग सहकार्य गर्दै कात्तिक ६ गते नोभेम्बर २१० एक नवीन ‘एनपिएल थीमयुक्त गणित अक्शन सत्र’ सम्पन्न गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ बाट प्रेरित उक्त कार्यक्रमले विद्यार्थीहरूलाई खेलकुदको रोमाञ्चसँग गणितीय रणनीति जोडेर सिक्ने अद्वितीय अवसर प्रदान गर्यो ।
सत्रमा ६० विद्यार्थी, तीन शिक्षक तथा चितवन राइनोजका विशेष अतिथि बिपिन आचार्य सहभागी थिए। आचार्यले व्यावसायिक लिगमा खेलाडी छनोट गर्ने रणनीति तथा अनलाइन अक्शन प्रणालीबारे आफ्ना अनुभव साझा गरेका थिए।
विद्यार्थीहरूले प्रतिबद्ध बजेटभित्र सांख्यिकीय विश्लेषण, सम्भाव्यता, जोखिम व्यवस्थापन, खर्च योजना र रणनीतिमूलक सोच प्रयोग गरी सन्तुलित टिम निर्माण गर्ने अभ्यास गरे। वास्तविक परिस्थितिमा गणित कसरी प्रयोग हुन्छ भन्ने अवधारणा विद्यार्थीहरूले प्रत्यक्ष रूपमा अनुभव गरे।
इम्बार्क अनम्याथका सह संस्थापक दिवेश बठीजाले गणित र रणनीतिक योजना व्यावसायिक खेलकुद तथा निर्णय प्रक्रियाको मेरुदण्ड भएको बताए। प्रत्येक फ्रेन्चाइज टिमका लागि सही संयोजन मिलाउन गणित अत्यन्त महत्वपूर्ण हुन्छ। यही सन्देश यस सत्रले विद्यार्थीहरूलाई दिएको छ, उनले भने।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यो अनुभवले आफ्नो निर्णय क्षमता, गणित बुझ्ने शक्ति र रणनीति बनाउने सीपलाई धेरै बढाएको प्रतिक्रिया दिए। एक विद्यार्थीका अनुसार, “हामीले जोखिम कसरी लिने, कहाँ लगानी गर्ने र कसरी प्रभावकारी योजना बनाउने भन्ने कुरा बुझेँ। यो अत्यन्तै उपयोगी अनुभव थियो।” अर्का विद्यार्थीले गणितीय विश्लेषणका आधारमा टिम निर्माण गर्ने प्रक्रियाले आफूहरूलाई अझै आत्मविश्वासी बनाएको बताए।
नेपालकै एकमात्र आइबी कन्टिन्यूम स्कुलका रूपमा प्रिमियर इन्टरनेशनल स्कुलले अनुभव आधारित सिकाइ, आलोचनात्मक सोच र वास्तविक जीवनमा लागू हुने सीप विकासमा निरन्तर जोड दिँदै आएको छ। व्यावहारिक परियोजना र सहकार्यका अवसरहरू मार्फत स्कुलले विद्यार्थीलाई भविष्यका चुनौतीका लागि सक्षम बनाउँदै आएको बताएको छ।
सन् २०१२ मा स्थापना भएको अनम्याथ स्कुलले विद्यालयमा गणित शिक्षणलाई नवीन, खोजीमूलक र व्यवहारिक ढंगले पुनःपरिभाषित गर्दै देशभर गणित सिकाइमा सकारात्मक परिवर्तन ल्याइरहेको छ।


















