नेपाल फिनटेक एक्स्पो–२०२६ पुष १८ गतेबाट सुरु हुने
वि.सं.२०८२ मंसिर २४ बुधवार १५:४७
shares

काठमाडौं, २४ मंसिर । फिनटेक अलायन्स नेपाल (एफएएन) ले नेपालकै पहिलो तथा ऐतिहासिक नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना गर्ने घोषणा गरेको छ। “ अ कमन प्लाटफर्म फर बैंकस एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स टु मिट टेक इनोभेटर्स” भन्ने नारासहित सार्वजनिक गरिएको २०८२ पुष १८ र १९, शुक्रबार र शनिबार मा ललितपुरको हेरिटेज गार्डेन, सानेपामा हुनेछ।
यो प्रदर्शनी नेपालमा पहिलोपटक आयोजना हुन लागेको सबैभन्दा ठूलो तथा पूर्ण रूपमा फिनटेक केन्द्रित मेला हो। यसमा डिजिटल वित्तीय सेवा, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, समावेशी वित्त, साइबर सुरक्षा, मेघ–बैंकिङ (क्लाउड बैंकिङ), कृत्रिम बुद्धिमत्ता, ब्लकचेन तथा नयाँ पुस्ताका प्रविधिहरू एकै स्थानमा प्रस्तुत गरिनेछन्।
दुई दिने यस कार्यक्रममा ४,००० भन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ। यसमा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालनकर्ता, बीमा कम्पनी, लगानी संस्था, पूँजी बजारका प्रतिनिधि, सफ्टवेयर तथा सूचना प्रविधि कम्पनी, फिनटेक तथा प्रविधि–आधारित स्टार्टअप, सरकारी तथा नियामक निकाय, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्भावित लगानीकर्ताहरू सहभागी हुनेछन्।
प्रदर्शनीमा ६० भन्दा बढी बूथ, स्टार्टअप प्रदर्शन क्षेत्र, प्रविधि समुदाय क्षेत्र, अनुभवात्मक फिनटेक प्रस्तुति तथा उद्योग–केन्द्रित जानकारीमूलक सत्रहरू सञ्चालन गरिनेछन्। प्रविधि समुदायका लागि पहिले आए पहिले पाउने आधारमा निःशुल्क टेबल उपलब्ध गराइनेछ, जसले स्थानीय युवा तथा नवप्रवर्तनकर्तालाई आफ्नो सीप प्रदर्शन गर्न अवसर प्रदान गर्नेछ।
कार्यक्रममा डिजिटल रूपान्तरण, नयाँ पुस्ताका भुक्तानी प्रविधि, ऋण मूल्यांकन, जानकारी विश्लेषण, फन्ड व्यवस्थापन, साइबर सुरक्षा तथा दिगोपना, वित्तीय पहुँच विस्तार, समावेशी वित्त, डिजिटल ऋण प्रक्रिया तथा भुक्तानी प्रणाली विस्तार जस्ता विषयमा छलफल तथा अनुभव आदान–प्रदान गरिनेछ।
प्रवेश टिकट सामान्यका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, दूरसञ्चार प्राधिकरण, चार्टर्ड एकाउन्टेन्ट संस्था तथा उनीहरूद्वारा नियमन गरिने अन्य संस्थाका कर्मचारीले परिचयपत्र देखाएर निःशुल्क प्रवेश पाउनेछन्। एफएएन सदस्य संस्थाले बूथ भाडामा ५० प्रतिशत छुट प्राप्त गर्नेछन्।
फिनटेक क्षेत्रलाई एकीकृत गर्दै, घरेलु प्रविधि तथा सेवाको प्रवर्द्धन, बैंकिङ–प्रविधि सहकार्य मजबुत बनाउने र नेपालको डिजिटल अर्थतन्त्र विस्तारमा योगदान पुर्याउने उद्देश्यले यो प्रदर्शनी आयोजना गरेको हो।



















