पूरै ११ किलोको एउटै काउली, नेपालमा अहिलेसम्मकै ठूलो भएको दाबी
वि.सं.२०८० पुस २० शुक्रवार १६:२१
shares
गोरखा सदरमुकाममा बिहीबारदेखि सुरु भएको ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्वन मेला–२०८०’ मा प्रर्दशनीमा राखिएको ९ किलोग्राम तौलको एउटै काउली । यो काउली नेपालमा उत्पादन भएको अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको दाबी गरिएको छ ।
गोरखा, २० पुस । । गोरखा नगरपालिका-७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ ।
अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला-२०८०’ को प्रदर्शनीमा राखिएको छ । ‘काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भने, ‘डाँठ र पात गरी दुई केजी घटाउँदा थुङ्गा मात्र नौ किलोभन्दा बढीको रहेको छ ।’
करिब एक रोपनी क्षेत्रफलमा काउलीको व्यावसायिक खेती गर्दै आएका किसान बस्नेतको बारीमा अनुमानित आठ किलोग्रामभन्दा बढीका काउली फलेका छन् ।बारीमा उत्पादित काउली ठूलो भएकाले बजारमा बिक्री गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ ।
काउलीको डाँठ र पात कटाएर नौ किलो भनिएको भए पनि अझै बढी तौल रहेको उनको भनाइ छ । कृषि क्षेत्रमा निरन्तर मेहनत गर्दै आएकी किसान बस्नेतले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने क्रममा यसपटक एउटै काउली नौ केजीभन्दा बढीको उत्पादन भएको जानकारी दिइन् ।
कृषि ज्ञानकेन्द्र गोरखाले किसान बस्नेतको परिवारलाई बारीमा ठूलाठूला काउली फलेकाले ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला-२०८०’ को प्रदर्शनीमा लैजान सुझाव दिएकाले आफूहरुले बारीमा उत्पादित सबैभन्दा ठूलो काउली प्रदर्शनीमा पुर्याएको एककुमारीका श्रीमान् प्रह्लाद बस्नेतले बताए ।
‘भक्तपुरे जातको काउलीलाई यो वर्ष हामी आफैंले क्रस गरेर बीउ उत्पादन गरी लगाएका हौँ’ उनले भने, ‘भदौमा रोपेको काउली अहिले टिपेर पूरै जोख्दा ११ केजी रहेको पाइयो । मेलामा ज्ञान केन्द्रले प्रदर्शनमा राखेको उक्त काउली हेर्नेका हाल भीड नै लागेको छ ।

















