GBIME

कोभिडको मारमा रुद्राक्ष : ५० प्रतिशत फेदमै सड्यो

3.72K
shares

काठमाडौं, ५ असार । कोरानो महामारीले सबै क्षेत्रलाई अस्तव्यस्त बनायो । धेरैको पेशा व्यवसायमा कोरोनाले असर गर्‍यो भने समग्र आर्थिक क्षेत्रमा नै कोभिडका कारणले समस्या उत्पन्न भयो ।

कोरोनाको समयमा नेपालबाट निर्यात हुने वस्तुमा समेत असर गर्‍यो । त्यसमध्ये रुद्राक्ष पनि एक हो । रुद्राक्ष त्यस्तो व्यवसाय हो जसबाट अर्बौँको निकासी हुन्छ । तर कोरोनाको महामारीका समयमा रुद्राक्षको व्यापारमा ७५ प्रतिशले गिरावट आएको छ । कोभिडको समययमा रुद्राक्षको व्यापार २५ प्रतिशतमा सिमित हुन पुगको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चपागाईँले जानकारी दिए ।

अध्यक्ष चापागाईँका अनुसार वार्षिक रुपमा ३ देखि ५ अर्बसम्मको व्यापार हुने गरेको भए पनि कोभिडको समयमा करिब ४० करोडको हाराहारीमा मात्रै व्यापार भएको छ । कोभिडका कारणले विदेशी व्यापारी नेपाल आउन नसकेको र नेपाली व्यापारी पनि विदेश जान नसकेकाले व्यवसायमा ठूलो क्षेती पुगेको अध्यक्ष चापागाईँले बताए ।

‘प्राचीन कालदेखि व्यापार भइरहेको भए पनि चिनमा भने पछिल्ला ८-१० वर्ष देखि रुद्राक्षको व्यापार हुन थालेको हो, त्यस कारण पनि समस्या भयो,’ उनले भने । कार्गोबाट पठाउनका लागि पनि सम्भवन भएन जसका कारण ५० प्रतिशत उत्पादन किसानको बारीमै खेर गएको उनले जानकारी दिए ।

अहिले नेपालका करिब ४५ जिल्लामा रुद्राक्षको खेती हुने गरेको अध्यक्ष चापागाईँको भनाइ छ । रुद्राक्षको ७५ प्रतिशत बजार भनेको विदेश हो । बाँकी रहेको २५ प्रतिशत मात्रै स्वदेशमा खपत हुने गरेको उनले बताए ।

रुद्राक्षको व्यापार भारत र चीनमा मात्रै हुने गरेको छ । अहिले केही मात्रामा युरोप तथा अमेरिकामा पनि रुद्राक्ष जाने गरेको बताइएको छ । तर रुद्राक्षका मुख्य बजार भनेको भारत र चीन नै हो । रुद्राक्ष निर्यातबाट अर्बौँ रकम आम्दानि भएको भए पनि सरकारले भने चासो नदिएको अध्यक्ष चापागाईँले गुनासो गरे । रुद्राक्षको माला प्रतिकेजी २०० देखि लाखौँ रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताएका छन् । ४, ५, ६ मुखे रुद्राक्ष चीनको बजारमा जाने गरेको छ । त्यस्तै ७ मुखेभन्दा माथिका रुद्राक्ष भारतीय बजारमा जाने गरेको उनले बताए ।

भोजपुरको दिङ्ला रुद्राक्षका लागि प्रसिद्ध रहेको भए पनि अन्य जिल्लामा समेत यसको खेती हुने गरेको अध्यक्ष चापागाईँले बताएका छन् । पूर्वका संखुवासभा, सुनसरी, झापा लगायत क्षेत्रमा धेरै खेती हुने गरेको उनले बताए ।

अहिले संघीय सरकारले यो क्षेत्रका लागि कुनै कार्यक्रम नल्याएको भए पनि प्रदेश एक सरकारले केही बजेट विनियोजन गरेको र यो बजेटबाट सीपमुल तालिम दिने विषयमा छलफल भइरहेको उनको भनाइ छ । यो क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको भन्दै दक्ष जनशक्ति तयार पार्न सकेको खण्डमा आकर्षक सामग्री तयार पारेर बढी आम्दानी गर्न सकिने उनको भनाइ छ ।

रुद्राक्ष पुजाका सामग्रीमा मात्रै प्रयोग भइरहेको भए पनि यसको औषधीय गुणको पनि पहिचान गर्न सकेमा थप आम्दानी हुने उनले बताए ।