Dhulikhel Eco Banner new

को हुन् राष्ट्र बैंकको नयाँ डेपुटी गभर्नर किरण पण्डित ?

4.89K
shares

काठमाडौं, २४ चैत । सरकारले नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि खाली रहेको दुई पदमध्ये एकमा पण्डितलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

करिब दुई दशकअघि नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालगायतका विभिन्न महत्वपूर्ण निकायमा काम गरिसकेका छन्। उनी २० फागुन २०८१ मा कार्यकारी निर्देशकमा बढुवा भएका थिए।

कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछि उनले भुक्तानी प्रणाली विभागको नेतृत्व गरेका थिए भने पछि उनको सरुवा विदेशिक विनिमय व्यवस्थापन विभागमा गरिएको थियो। यस अवधिमा उनले केही समय राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।

राष्ट्र बैंकमा निर्देशकका रूपमा कार्यरत रहँदा पण्डितलाई संस्थाको ६९औँ वार्षिकोत्सवका अवसरमा सर्वोत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो। उनले १,१४७ कर्मचारीमध्ये उत्कृष्ट बन्न सफल भएका थिए।

शैक्षिक पृष्ठभूमिका हिसाबले पण्डितले पब्लिक युथ क्याम्पसबाट बीबीएस उत्तीर्ण गरेका छन् र आफ्नो ब्याचमा त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट भएका थिए। उनले त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।

अन्तर्राष्ट्रिय अध्ययनतर्फ उनले अस्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीबाट जलवायु वित्तमा व्यावसायिक कोर्स पूरा गरेका छन्। साथै, अमेरिकाको ड्युक युनिभर्सिटीबाट विकेन्द्रित वित्त र स्विट्जरल्यान्डको युनिभर्सिटी अफ जेनेभाबाट मानवतावादी सञ्चारसम्बन्धी सर्टिफिकेसन कोर्स पनि गरेका छन्।

सरकारले अनुभवी र योग्य अधिकारीका रूपमा पण्डितलाई डेपुटी गभर्नरको जिम्मेवारी दिएको जनाएको छ।