भल्चौर कृषि सहकारीमा हिनामिना, १४ लाख बढी रकमको बैंक भौचर भेटिएन
वि.सं.२०७९ असार २३ बिहीवार २०:०५
shares

काठमाडौं, २३ असार । सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ४ रहेको भल्चौर कृषि सहकारी संस्थामा आर्थिक हिनामिना भएको विषयमा छानविन गर्न गठन गरेको समितिले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीको संयोजकत्वमा गठीत समिले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा १४ लाखभन्दा बढी रकमको विल भर्पाई नै नपाइएको देखिएको हो ।
प्रारम्भिक प्रतिवेदन अनुसार १४ लाख ४० हजार ९६ रुपैयाँ ९० पैसाको विल भपाई उपलब्ध नभएको देखिएको छ । सहकारीका प्रवन्धक हेमन्त वली ले संस्थाको केही रकम आर्थिक हिनामिना गरी सम्पर्क विहिन भएको भन्ने निवेदन परे पछि गाउँपालिकाले छानविन समिति गठन गरिएको थियो ।
प्रतिवेदन अनुसार सहकारी संस्थाको आर्थिक वर्ष २०७७/०७८ सम्मको आय व्ययको लेखापरिक्षण भईसकेको, चालू आव २०७८/०७९ मा खर्च लेखिएका गोश्वारा भौचरहरुमा कुनैपनी विल भरपाईहरु र खर्च पुष्टाईहुने आधारहरु नभएको र सहकारी संस्थामा भएका सम्पतिहरुको कुनै अभिलेख नराखीएको/ नबाँधिएको उल्लेख गरिएको छ ।
त्यस्तै जग्गा, भवन तथा घेरबार र अन्य सम्पती शिर्षकमा खर्च भएको रकम ११ लाख ५६ हजार ५३८ रुपैयाँ ९६ पैसा बराबरका कुनैपनी विल भरपाई र श्रेस्ता नभएको, साना किसान बैक को ग्रा.सु १ लाख ६५ हजार ८३३ रुपैयाँ ५ पैसा बराबर रकमको पुष्ट्याईको आधार नदेखिएको, प्रवन्धक हेमन्त वलीको नाममा रु.१ लाखा ११ हजार ६७३ रुपैयाँ बराबरको रकम पेश्की बाँकी, र कृषि विकास बैकको हिसाब ६ हजार ९०१ रुपैयाँ ३६ पैसाको हिसाब मिलानमा फरक परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२५१ जना ऋणीहरुमा केही ऋणी फर्जीरुपमा खडा गरी हिसाब मिलान गरेको, दुध संकलनको आम्दानी नदेखाएर खर्च (गाडि भाडा आदी) मात्र देखाएको, सञ्चालक समितिको अनुमति वेगर मलखाद बेचेको भन्ने उजुरीको सम्बन्धमा सञ्चालक समितले समेत छानविन गरी सत्यतथ्य बाहिर ल्याउने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै केही फर्जी ऋणीहरु बनाएको भन्ने निज प्रवन्धकले नै स्वीकार गरिसकेको हुँदा ऋणीहरु र संस्था दुवै बसेर बास्तविक संख्या र रकमको हिसाब ल्याएपछि छानविन समितिले रकमको अन्तिम हिसाब बाहिर ल्याउने गरी यो प्रारम्भिक प्रतिवेदन पेश गरिएको भनि उल्लेख गरिएको छ ।
छानविन समितिको संयोजकमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम ओली रहेका थिए । त्यस्तै सदस्यहरुमा वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र बहादुर रावत, लेखापाल दिपक कवँर, ढाकाडम कृषि सहकारी संस्थाका प्रवन्धक सुरेन्द्र प्रकाश के.सी, र भल्चौर कृषि सहकारी संस्थाका सल्लाकार बुद्धि थापा रहेका थिए ।


















