Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकले सुरु गर्‍यो नेपालपे कार्ड एक्वायरिङ सेवा

442
shares

काठमाडौं, १४ साउन । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप सुदृढ बनाउँदै नेपाल क्लियरिङ हाउस (एनसीएचएल)मार्फत नेपालपे कार्ड एक्वायरिङ सेवा सुरु गरेको छ।

नेपालपे कार्ड राष्ट्रिय भुक्तानी स्विचअन्तर्गत सञ्चालनमा आएको राष्ट्रिय कार्ड योजना हो। नेपालपे सञ्चालनमा आएपछि बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्ड नेपाल तथा विदेशमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

योसँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड एक्वायर गर्न सक्ने भएका छन्। साथै, डिस्कभर नेटवर्कअन्तर्गतको रुपे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डसमेत बैंकका एटीएम तथा प्वाइन्ट अफ सेल (पीओएस) टर्मिनलमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

नेपालपे कार्ड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीसँग जोडिएको छ। यसअन्तर्गत जारी हुने कार्डहरू नेपालका एटीएम र पीओएस टर्मिनलसँगै अन्तर्राष्ट्रिय भुक्तानी साझेदार डिस्कभर नेटवर्कमार्फत विश्वभर प्रयोग गर्न सकिनेछन्।

हालसम्म नेपालपे कार्डका लागि ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन्। तीमध्ये सात वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने ११ वटा संस्था एक्वायरिङ प्रक्रियामा रहेका छन्। आगामी दिनमा आबद्ध संस्थाको संख्या थप बढ्ने अपेक्षा गरिएको छ।

हाल बैंकले देशभर ३१६ शाखा, १०३ विस्तारित काउन्टर, ३३ शाखारहित बैंकिङ सेवा र ६०४ एटीएम टर्मिनलमार्फत सेवा प्रदान गर्दै आएको छ।

एनआईसी एशिया बैंकले पछिल्लो समय डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकता दिँदै आएको छ। बैंकले आन्तरिक प्रणाली तथा ग्राहक सेवामा डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै आएको जनाएको छ।