२७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स तयार, अब सेवाग्राहीलाई वितरण प्रक्रिया सुरु
वि.सं.२०८३ साउन १४ बिहीवार १४:११
shares

काठमाडौं, १४ साउन। यातायात व्यवस्था विभागले चार वर्षदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सम्पन्न गरी २७ लाखभन्दा बढी कार्ड सम्बन्धित यातायात कार्यालयहरूमा पठाएको जनाएको छ।
विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौताअनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै स्मार्ट लाइसेन्स तयार गरिएको विभागले जनाएको छ।
साउन ७ गतेसम्म २७ लाख ४७ हजार २५३ थान स्मार्ट लाइसेन्स हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा पठाइसकिएको विज्ञप्तिमा उल्लेख छ।
विभागले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार छपाइ मेसिन, जनशक्ति, सफ्टवेयर तथा स्रोत व्यवस्थापनसम्बन्धी समस्याका कारण लामो समयदेखि रोकिएको लाइसेन्स छपाइ कार्य सम्पन्न भएको हो।लामो समयसम्म लाइसेन्सको प्रतीक्षा गरेका सेवाग्राहीप्रति विभागले आभार व्यक्त गर्दै सम्बन्धित कार्यालयबाट लाइसेन्स बुझ्न अनुरोध गरेको छ।
विभागले भने म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स भने छापिएको छैन। हाल नवीकरण गर्दा १० वर्ष अवधिको नयाँ लाइसेन्स प्राप्त गर्न सकिने व्यवस्था रहेकाले त्यस्ता सेवाग्राहीलाई आफूलाई पायक पर्ने यातायात कार्यालयमा गएर नवीकरण गर्न आग्रह गरिएको छ।
लाइसेन्स प्रणालीलाई थप व्यवस्थित बनाउन विभागले केही सुधारसमेत लागू गरेको जनाएको छ। अब नयाँ लाइसेन्स तथा नवीकरणका क्रममा राष्ट्रिय परिचयपत्रमा रहेको विवरण प्रयोग गरिनेछ भने राजस्व भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था मिलाइएको छ।
त्यस्तै, लाइसेन्समा भएका विवरणगत त्रुटि सम्बन्धित कार्यालयबाटै तत्काल सच्याउन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ। वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि भने द्रुत छपाइ र वितरणको विशेष व्यवस्था गरिएको पनि विभागले उल्लेख गरेको छ।

















