गणपति लघुवित्तको नाफा ५४ प्रतिशतले घट्यो
वि.सं.२०७९ साउन १७ मंगलवार १०:३५
shares

काठमाडौं, १७ साउन । गणपति लघुवित्त वित्तीय संस्थाको खुद नफामा ५४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५४.७५ प्रतिशतले घटेको हो ।
संस्थाले गत आर्थिक वर्षमा १ करोड ८६ लाख खुद नाफा आर्जन गरेको छ । यस्तो नाफा अघिल्लो आर्थिक वर्षमा ४ करोड ११ लाख रुपैयाँ कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न घटेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.१७ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ०.५७ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ७०.२७ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड ७९ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले, गत आर्थिक वर्षमा १ करोड ५१ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ २ पैसा घटेर १२ रुपैयाँ २८ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७.५७ गुणा रहेको छ ।
















