बजेटको कार्यान्वयनमा वीरगञ्जका उद्योगीको चिन्ता
वि.सं.२०७९ जेठ १७ मंगलवार १२:०५
shares

काठमाडौं, १७ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको कार्यान्वयनमा वीरगञ्जका उद्योगी व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन ।
बजेटमा सरकारले सबै क्षेत्रलाई समेटेको भएपनि बजेटको कार्यान्वयन गर्न नसक्ने भन्नेमा चुनौति रहेको उनीहरको धारणा छ ।
उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले सरकारले बजेटमा उद्योगीहरुलाई मासिक १० करोड रुपैयाँको विद्युत खपत गर्ने उद्योगलाई सहुलियत दिएको तर तेत्रो विद्युत खपत गर्ने उद्योग नेपालमा न्यून रहेको उनको भनाई छ ।
उनले भने, ‘सरकारले कृषिलाई कसरी माथि उठाउने भनेर ध्यान दिएको छ । कृषकलाई पेन्सन दिने व्यवस्था राम्रो छ । यसले उत्पादन वृद्धि गर्छ । आत्मनिर्भर बनाउने बाटोमा हिँडेको छ । बजेटको आकार भने केही ठूलो छ ।’
त्यस्तै वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले नयाँ बजेट चुनावी बजेट बनाई सबैलाई खुशी पार्न खोजे पनि सरकारसँग ढुकुटी नभएकाले बजेट कार्यान्वयन गर्न कठिन रहेको जिकिर गरेका छन् ।
उनले भने, ‘नयाँ बजेटमार्फत १८ प्रतिशत राजश्स्व उठने परिकल्पना गरिएको छ । राजश्स्व उठाउने विश्वासिलो आधार छैन, साथै राज्यसँग खर्च गर्ने क्षमता पनि छैन ।’
गौतमले पाँच खर्बभन्दा बढी घाटाको बजेट आएको र राज्यले १८ खर्ब ऋण बोकेको अवस्था रहेको बताएका छन् ।
आर्थिक वर्ष २०७९।८० लागि सरकारले जेठ १५ गते बजेट सार्वजनिक गरेको थियो । जसमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थियो ।


















