साढे २ अर्ब नाघ्यो नबिल बैंकको खुद नाफा, इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा वृद्धि
वि.सं.२०८३ कात्तिक १५ आइतवार १०:३६
shares

काठमाडौं, १५ कार्तिक।नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस वर्ष समीक्षा अवधिमा बैंकको खुद नाफा बढेको छ ।
बैंकको नाफा वृद्धिमा सम्भावित कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याइने इम्पेयरमेन्ट चार्जमा आएको कमीले मुख्य योगदान गरेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ७२ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिमा घटेर १६ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । यसले कर्जा नोक्सानी व्यवस्थापनको दबाब घटेको देखाउँछ ।
यसैगरी, बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ९० करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर समीक्षा अवधिमा ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद फि तथा कमिसन आम्दानीसमेत बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७९ करोड ८७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यसले बैंकको मुख्य व्यावसायिक आम्दानीमा सुधार भएको देखाउँछ ।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३३ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ३९ पैसा कायम भएको छ ।
समीक्षा अवधिसम्म बैंकले कुल ६१९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४७६ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
लगानीकर्ताका लागि महत्वपूर्ण मानिने वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकको खराब कर्जा अनुपात ४.०६ प्रतिशत र खुद खराब कर्जा अनुपात ०.६३ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको पूँजी कोष अनुपात ११.६७ प्रतिशत कायम भएको छ ।



















