Dhulikhel Eco Banner new

नाइमा मोबिलिटी एक्स्पो–२०२५ साउन २१ गतेदेखि सुरु हुँदै

3.11K
shares

काठमाडौं, १२ साउन । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमै अवस्थित भृकुटीमण्डपमा आयोजना हुने र त्यहाँको भौतिक पूर्वाधारलाई व्यवस्थित बनाइएको जानकारी दिए। उनका अनुसार यति गेटमार्फत आगन्तुक प्रवेश गरिनेछ र त्यहीँबाट सम्पूर्ण सुरक्षा, टिकटिङ तथा सूचना व्यवस्थापन सञ्चालन हुनेछ।

यसपटकको एक्स्पोमा ५० भन्दा बढी ब्राण्ड, १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा कमर्सियल सवारी साधनसहित ३५ नयाँ सवारी साधनहरू सार्वजनिक गरिने छन्। प्रदर्शनीमा विद्युतीय सवारी साधन, स्मार्ट मोबिलिटी सोल्युसन, र ट्राफिक तथा रोड सेफ्टी प्रविधिहरू पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको प्रमुख प्रायोजक एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्। साथै, खल्ती बाई आईएमई टिकटिङ पार्टनर, माउन्टेन ड्यु बेभरेज पार्टनर, पठाओ राइड पार्टनर, एचआईके भिजन सुरक्षा साझेदार, र सोल्टी होटल हस्पिटालिटी पार्टनर रहेका छन्।

प्रदर्शनी अवधिभर पठाओले ३० प्रतिशत छुट दिनेछ भने फ्रन्टलाइन हस्पिटलले चौबिसै घण्टा एम्बुलेन्स र स्वास्थ्य सेवा उपलब्ध गराउनेछ। साथै, ‘नाइमा अनलाइन भिडियो प्रतियोगिता’ समेत सार्वजनिक गरिएको छ जसमा सहभागीले भिडियो बनाइ श्रावण २१ भित्र अपलोड गरेमा उत्कृष्ट एक जनालाई १ लाख रुपैयाँ र अन्य १० जनालाई १०,००० रुपैयाँ नगद पुरस्कार दिइनेछ।

कार्यक्रमको समापन नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले गर्दै यस वर्षको मोबिलिटी एक्स्पो नेपालकै अहिलेसम्मकै सबैभन्दा ठूलो अटो प्रदर्शनी हुने दाबी गरिन्।

एक्स्पो अवधिभर विभिन्न अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुने ज्ञानवर्धक सत्र पनि सञ्चालन हुनेछन्। पहिलो दिन अनिल केशरी शाहले “मोबिलिटीः हिजो, आज र भोलि” विषयमा सेसन सञ्चालन गर्नेछन्। त्यसपछि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतका निकायका विज्ञहरूले आ–आफ्नो अनुभव सञ्झाउनेछन्।

प्रदर्शनीको टिकट खल्ती बाई आईएमई एपमा उपलब्ध छ। टिकट बिक्रीबाट उठेको आम्दानीको ५ प्रतिशत रकम शिक्षा मन्त्रालय र सीटीईभीटीको सहकार्यमा छात्रवृत्ति तथा फेलोशिप प्रदान गर्न प्रयोग गरिनेछ।