राष्ट्र बैंकले २९ अर्बभन्दा बढी रकम मुद्दती निक्षेपमा लगानी गर्ने
वि.सं.२०८२ साउन १२ सोमवार १६:२७
shares

काठमाडौं, १२ साउन । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषहरूमा रहेको २९ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंक, वित्त व्यवस्थापन विभागमार्फत केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट ३६६ दिन अवधिको मुद्दती निक्षेप प्रस्ताव आह्वान गरेको हो।
प्रस्ताव अनुसार, ‘क’ वर्गका वाणिज्य बैंकहरूका लागि २३ अर्ब ४० करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूका लागि ४ अर्ब ३८ करोड ७० लाख रुपैयाँ, र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूका लागि १ अर्ब ४६ करोड २० लाख रुपैयाँ निक्षेप लगानी गरिनेछ। इच्छुक संस्थाहरूले साउन १५ गतेभित्र आवेदन दिनुपर्नेछ।
यस योजनामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले कम्तीमा २ वर्ष सञ्चालनमा आइसकेको हुनुपर्ने, न्यूनतम पुँजी कोष कायम भएको, निष्क्रिय कर्जा ८ प्रतिशतभन्दा कम भएको, तरल सम्पत्ति खुद निक्षेपको २० प्रतिशत वा सोभन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको सीमा भित्रको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा रहेको, र सर्वसाधारणका लागि शेयर निष्काशन गरिएको जस्ता मापदण्डहरू पूरा गर्नु पर्नेछ।
राष्ट्र बैंकको यो कदम वित्तीय प्रणालीमा तरलता व्यवस्थापन तथा पूँजी लगानीको उपयोगिता बढाउन लक्षित रहेको छ।

















