Dhulikhel Eco Banner new

अटोमोबाइल क्षेत्रका समस्याबारे उद्योग मन्त्रीसँग नाडाको छलफल

1.68K
shares

काठमाडौं, १० असोज । नेपालको अटोमोबाइल क्षेत्रसँग सम्बन्धित समस्या तथा सम्भाव्य समाधानका विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग छलफल गरेको छ।

नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अटोमोबाइल उद्योगमा देखिएका वर्तमान चुनौतीहरू र तिनको दीर्घकालीन समाधानबारे मन्त्री सिन्हासँग विस्तृत रुपमा कुराकानी गरेको हो। छलफलमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा। रामप्रसाद घिमिरेसहित नाडाका पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।

अध्यक्ष चौधरीले हालैको जेन–जेड आन्दोलनका क्रममा अटोमोबाइल उद्योगमा प्रत्यक्ष उत्पादनमा क्षति नभए पनि धेरैजसो शोरुम, कार्यालय र संरचनामा भएको आगजनी तथा तोडफोडले उद्योगलाई ठूलो परोक्ष क्षति पुर्याएको उल्लेख गरे। उनले सरकारसँग उद्योगको पुनर्स्थापना, ग्राहकको विश्वास पुनःनिर्माण, र आवश्यक नीतिगत सहयोगको माग गरे।

त्यस्तै, अध्यक्ष चौधरीले नेपालमै उत्पादित वस्तुहरूले गुणस्तर चिन्ह नपाउने अवस्थाबारे चिन्ता व्यक्त गर्दै गुणस्तर तथा नापतौल विभागमा अत्याधुनिक परीक्षण उपकरणको व्यवस्था गर्न आग्रह गरे। उनले नेपालमा सञ्चालनमा रहेका १६ वटा लुब्रिकेन्ट उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे। भारतको कर प्रणालीमा गरिएको हालको परिवर्तनले अनधिकृत आयात बढ्न सक्ने खतरा औँल्याउँदै सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा पनि जोड दिए।

अध्यक्ष चौधरीले बहुपक्षीय मोटर भेहिकल एग्रिमेन्टले नेपालका व्यावसायिक सवारी साधनको बजारमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै यस विषयमा सरकारले गम्भीर मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, नाडाले अघि सारेको ‘एजेन्सी दर्ता नियमावली’ अझै आउन नसकेको र ढिलो भएमा सवारी साधन आयात व्यवसायमै असर पर्ने उल्लेख गर्दै नियमावली चाँडो कार्यान्वयनमा ल्याउन माग गरे।

छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमै उत्पादित टायर, हेलमेट, लुब्रिकेन्ट र ब्याट्रीले गुणस्तर चिन्ह पाउन समस्या भोगिरहेको जानकारी दिँदै, आयातमा अनिवार्य रूपमा प्रमाणपत्रको माग गरिएजस्तै स्वदेशी उद्योगका लागि पनि गुणस्तरीय उत्पादन प्रोत्साहन गरिनुपर्ने धारणा राखे। उनले नेपालमा रहेका ११ वटा ब्याट्री कारखानालाई आधार मानेर ब्याट्री रिसाइकल प्लान्ट स्थापना गर्न माग गरे।

नाडा केन्द्रीय कार्यसमिति सदस्य प्रकाश कपुरीले व्यवसाय र सरकार एक अर्काका पूरक भएको बताउँदै सहकार्यबाट मात्र समाधान सम्भव हुने बताए। सदस्य निशान ढकालले व्यावसायिक सवारी साधनको बजार खस्कँदो अवस्थामा रहेको भन्दै नेपालमै आधारित क्रसर उद्योगको विस्तार गर्नुपर्ने सुझाए। सदस्य अभिक ज्योतिले गुणस्तर चिन्ह नभएका हेलमेट बजारमा व्यापक रूपमा प्रयोगमा रहेको भन्दै अनिवार्य रुपमा चिन्ह दिनुपर्ने प्रस्ताव राखे।

सरकारी पक्षबाट सचिव कृष्णप्रसाद राउतले गुणस्तर परीक्षण प्रयोगशाला चाँडै स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए। उनले निजी क्षेत्रका लगानीकर्ताहरूलाई पनि ल्याब स्थापना गर्न प्रोत्साहित गर्नुपर्ने बताए।

अन्त्यमा, मन्त्री अनिलकुमार सिन्हाले सरकार व्यवसायीको साथमा रहेको स्पष्ट गर्दै, स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा सरकार अगाडि बढिरहेको बताए। उनले नाडाले उठाएका मागहरूलाई सकारात्मक रूपमा लिएर चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे। मन्त्री सिन्हाले आगामी ६ महिनापछि मन्त्रालयले गरेका कामहरू व्यवसायीहरूले मूल्याङ्कन गर्नुपर्ने सुझाबसमेत दिए।

यो छलफल सकारात्मक, आशाप्रद र फलदायी रहेको नाडाको भनाइ छ। सरकार र व्यवसायीबीचको सहकार्यले अटोमोबाइल क्षेत्र मात्र होइन, सम्पूर्ण उद्योग र व्यापार क्षेत्रलाई गति दिने विश्वास नाडाले व्यक्त गरेको छ।