मेटलाइफ विश्वका उत्कृष्ट २५ कार्यस्थलमध्ये १०औँ स्थानमा सम्मानित
वि.सं.२०८२ मंसिर २ मंगलवार १३:२६
shares

काठमाडौं, २ मंसिर । मेटलाइफ, इन्कले लगातार दोस्रो वर्ष फच्र्यून वर्ल्डको उत्कृष्ट २५ कार्यस्थल सूचीमा स्थान सुरक्षित गरेको छ। यो वर्ष कम्पनीले उक्त सूचीमा १०औँ स्थान हासिल गर्दै आफ्ना कर्मचारी, ग्राहक र समुदायप्रतिको दीर्घकालीन प्रतिबद्धता पुनः प्रमाणित गरेको छ।
मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले यो मान्यताले कर्मचारीहरूको जोश, समर्पण र कम्पनीले विकास गरिरहेको बलियो कार्यस्थल संस्कृतिको पुनः पुष्टि गरेको बताए। उनले नयाँ वृद्धि रणनीति अघि बढाउने क्रममा सबै कर्मचारी फस्टाउन सक्ने वातावरण निर्माण कम्पनीको मूल लक्ष्य रहेको उल्लेख गरे।
ग्रेट प्लेस टु वर्कद्वारा संकलित नौ मिलियनभन्दा बढी सर्वेक्षण प्रतिक्रियामा आधारित यो सूची विश्वभरका उत्कृष्ट वातावरण सिर्जना गर्ने र समुदायमा सकारात्मक प्रभाव पार्ने कम्पनीहरूको अनुभवलाई प्रतिनिधित्व गर्छ।
मेटलाइफले यसअघि अमेरिकाको फच्र्यून १०० उत्कृष्ट कम्पनी सूचीमा लगातार तेस्रो वर्ष स्थान पाएको थियो। २०२५ मा कम्पनी ३३ देशमा उत्कृष्ट कार्यस्थल को रूपमा प्रमाणित भएको छ—जसमध्ये ब्राजिल, चिली, चीन, भारत, इटाली, मेक्सिको, स्पेन, दक्षिण कोरिया, यूएई र अन्य धेरै देश सामेल छन्।
मेटलाइफका मुख्य मानव संसाधन अधिकृत शुराउल सिब्लिसले कर्मचारी नै कम्पनीको सफलताका प्रेरक शक्ति भएको बताउँदै, सबैलाई सम्मान, मान्यता र विकासको समान अवसर दिने वातावरण निर्माण संस्थाको प्रमुख प्राथमिकता रहेको जनाए।
फच्र्यूनको उत्कृष्ट कार्यस्थल सूचीमा पर्न कम्पनीहरूका कम्तीमा ५,००० विश्वव्यापी कर्मचारी हुनुपर्ने र विभिन्न क्षेत्रीय उत्कृष्ट कार्यस्थल सूचीहरूमा मान्यता प्राप्त भएको हुनुपर्छ।
१८६८ मा स्थापना भएको मेटलाइफ विश्वभर ४० भन्दा बढी मुलुकमा सेवा प्रदान गर्दै बीमा, एन्युटी, कर्मचारी लाभ र सम्पत्ति व्यवस्थापनका क्षेत्रमा अग्रणी छ। नेपालमा मेटलाइफ सन् २००१ देखि जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, तथा सामूहिक बीमासह विविध योजनाहरू प्रदान गर्दै आएको छ।
ग्रेट प्लेस टु वर्क र फच्र्यून दुवै विश्वस्तरीय मान्यता प्राप्त संस्था हुन्, जसले उत्कृष्ट कार्यस्थल संस्कृतिको अध्ययन, मूल्याङ्कन र सूचिकरण गर्दै आएका छन्।



















