एसईईको नतिजा प्रकाशित
वि.सं.२०७९ साउन ११ बुधवार १६:२०
shares

काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका दिए ।
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।
३.६१ देखि ४ ग्रेड ल्याउनेको संख्या १.९४ प्रतिशत रहेको बोर्डले जनाएको छ । त्यस्तै नन ग्रेड ल्याउनेको संख्या ४.५५ रहेको छ भने ०.८१ देखि १. २ जीपीए ल्याउनेको संख्या ०.६६ प्रतिशत रहेको छ ।
यस्तै १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ९ प्रतिशत, १.६१ जीपीएदेखि २.० जीपीए ल्यानेको संख्या २०.२९ प्रतिशत, २.०१ देखि २.४ जीपीए ल्याउनेको संख्या २२.७४ प्रतिशत, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या १८.३१ प्रतिशत रहेको छ ।
२.८१ देखि ३.२ जीपीए ल्याउनेको संख्या १४.१३ प्रतिशत र ३.२१ देखि ३.६ जीपीए ल्याउनेको सख्ंया १.४ प्रतिशत रहेका छन् । स्थानीय तहको निर्वाचनका कारण यस वर्ष एसइईको नतिजा सार्वजनिक हुनमा ढिलाई भएको हो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।















