Dhulikhel Eco Banner new

फर्म तथा उद्योगलाई कारवाहीबाट पौने २ करोड राजश्व संकलन

6.89K
shares

काठमाडौं, ११ साउन । अनुचित व्यापारिक क्रियाकलाप गर्ने विभिन्न उद्योग तथा फर्महरुलाई कार्वाहीबाट राज्यलाई करिब २ करोडको राजश्व संकलन भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा यस्तो क्रियाकलापमा संलग्न १ हजारभन्दा बढी उद्योग तथा फर्महरुलाई कार्वाही गरेर १ करोड ८१ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

विभागले गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ३३१ व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई गरेको कारबाहीबाट उक्त राजश्व संकलन गरेको हो । विभागका अनुसार अनुगमन गरिएको फर्ममध्ये झण्डै आधा फर्म कारवाहीमा परेको छन् । सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिइने गरिएको छ ।

यसअवधिमा विभागले ३ हजार १४७ फर्मको अनुगमन गर्दा ३१२ फर्ममात्र सामान्य अवस्थामा रहेको पाइएको छ । त्यस्तै १ हजार ७३ फर्ममा कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको, ६८५ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न निर्देशन, ३३ फर्मबाट परीक्षण गर्न वस्तुको नमूना संकलन, साधनसहित ३ जना प्रक्राउ र १३ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको छ ।

यस्तैगरी उक्त अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएकाले ५४ लाख ८२ हजार ७११ रुपैयाँ मूल्य बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष सबैभन्दा धेरै कारवाही खाद्यान्न तथा किराना पसललाई गरिएको छ । एक वर्षको अवधिमा ८३८ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा ४२९ वटालाई आर्थिक जरिमाना गरिएको छ ।

यस्तै, ११९ फार्मेसी पसलको अनुगमन गर्दा ३९ वटालाई कारवाही गरिएको छ । २३३ कस्मेटिक तथा कपडा पसलको अनुगमन गर्दा २५ पसललाई कारवाहीस्वरुप आर्थिक जरिवाना गरिएको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै ४ स्टेशनरी, ३ सर्जिकल हाउस, २९ वटा अण्डा तथा मासु पसल, पाँच वटा मार्ट, ६ वटा फ्युल तथा कोइला पसल, १७ वटा ग्यास, ९ वटा चस्मा पसल, ११ वटा डिर्पाटमेन्ट स्टोर, १४ वटा पानी उद्योग, १७ वटा मदिरा तथा पेय पदार्थ, ४३ वटा फलफूल तथा तरकारी पसल, १८ वटा दुग्धजन्य पदार्थ तथा बेकरी उद्योग र ६६० अन्य फर्मलाई कारवाही गरिएको गरिएको छ ।