Dhulikhel Eco Banner new

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप

3.63K
shares

काठमाडौं, १४ वैशाख । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित राजधानीमा आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार झडप भएको छ । नयाँबानेश्वरस्थित संसद भवन नजिकको निषेधित क्षेत्रतर्फ अगाडि बढ्ने प्रयास गर्दा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल र झडप भएको हो ।

बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएका शिक्षकहरूलाई प्रहरीले निषेधित क्षेत्र पार गर्न नदिँदा स्थिति तनावपूर्ण बन्दै झडपमा परिणत भएको हो । भिड तितरबितर पार्न प्रहरीले पानीको फोहोरा प्रहार गरेपछि झडप चर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । भीडबाट ढुंगा प्रहारसमेत भएको बताइएको छ ।

नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका शिक्षकहरूले चैत २५ गतेदेखि देशव्यापी शैक्षिक आमहड्ताल घोषणा गरेका थिए । आन्दोलनको २६ औं दिन आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गर्दै संसद भवनतर्फ अगाडि बढ्दा झडप भएको हो ।

महासंघका अनुसार झडपमा १५ भन्दा बढी शिक्षक घाइते भएका छन् । घटनापछि आन्दोलन झनै चर्किने संकेत देखिएको छ । महासंघले सोमबार तीन गुणा बढी शिक्षक काठमाडौंमा उतार्ने तयारी गरिरहेको जनाएको छ । शनिबार सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरिएको थियो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आइतबारको सभालाई सम्बोधन गर्दै भने, “हामी शिक्षक हौं, लाठी छैन, केही छैन । शान्तिपूर्ण आन्दोलनमा घुसपैठी पठाएर सरकारले आफ्नो नाङ्गो रुप देखायो ।” उनले चेतावनी दिँदै भने, “हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस् । हामी शिक्षक ज्यान दिन तयार छौं ।”

शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईई उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा प्रभावित भएका छन् । यसैबीच वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ सम्मका लागि स्थगित गरिएको छ । आन्दोलनका क्रममा शिक्षकहरूले “शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर”, “विद्यालय शिक्षा ऐन लागू गर” जस्ता नारा लगाउँदै माइतीघरबाट प्रदर्शन सुरू गरेका थिए ।