नेपालमा हाइड्रोजनबाट इन्धन उत्पादन हुने
वि.सं.२०७९ जेठ १० मंगलवार १४:३६
shares

काठमाडौं, १० जेठ । नेपालमा हाईड्रोजन, र युरियाबाट इन्धन उत्पादन हुने भएको छ ।
दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौंता पत्रमा नेपालमा हाईड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मंगलबार सिंहदरवारमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक पे्रmङक रिजस्बेर्मन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् । सम्झौंतामा जीजीजीआईले सो ईन्धन उत्पादनका लागि आवश्यक अध्ययन गरिदिने, त्यसको कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गरिदिने र त्यसका लागि आवश्यक सबै खालका प्राविधिक सहयोग गरिदिने भनिएको छ ।
सम्झौंतामा काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर नेपालमा हाईड्रोजन फ्यूलको उत्पादन कार्यलाई अघि बढाउने उल्लेख गरिएको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताउनु भयो । उनले भने‘यो ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई) कोरियाको इेन्टिटिच्यूडसँग विद्युत प्राधिकरणले हाईड्रोजन एमोनिया र युरिया प्रोडक्सनको सम्बन्धमा उसले स्टडी गरिदिने, यसको कार्यान्वयनका लागि सहजीकरण गरिदिने र प्राविधिक सहयोग सबै गरिदिने हिसावले हामीसँग एउटा एमओयू गरिएको छ । यो एमओयू भईसकेपछि हामीले काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर यो सम्बन्धमा नेपालमा हाईड्रोजन फ्यूलको सम्बन्धमा हामी व्यापक रुपमा यसको अध्ययन र यसको कार्यान्वयनको पक्षमा हामी जान्छौं ।’
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री भुसालले सो परियोजनाले विश्वमै महंगो बन्दै गईरहेको पेट्रोलियम पदार्थलाई विस्थापित गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै त्यसको छिटो कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यान जाने विश्वास व्यक्त गरे । उनले सो परियोजनाले नेपालको ऊर्जा क्षेत्रको नयाँ ढोका खोलिदिएको पनि बताउनु भयो । मन्त्री भुसालले भने, ‘हामी यहाँ पेट्रोलियम पदार्थको जो अहिले विश्व बजारमै ज्याँदै महंगो पनि भईराखेको छ । त्यसलाई विस्थापित गर्न सक्ने आफनै देशको उर्जा पनि खपत हुने महत्वपूर्ण परियोजना हो भन्ने लाग्छ । यो सामान्य एमओयू मात्रै होईन । यो एमओयू उल्लेख्य महत्वपूर्ण छ । यसको बरु समयमै कार्यान्वयन गर्दाखेरी यसले हाम्रो ऊर्जाको क्षेत्रमा नयाँ ढोका खोल्नेछ । यस कार्यान्वयन छिट्टै हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’
मन्त्री भुसालले जलविद्युतको खपतका लागि पनि नेपालमा ईन्धनसँग सम्बन्धित यस्ता परियोजनाहरु उपयोगी हुने स्पष्ट पारे ।
















