डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता २१ दिनभित्र नतिरे कारबाही हुने प्राधिकरणको चेतावनी
वि.सं.२०८२ असोज १२ आइतवार ११:२३
shares

काठमाडौं, १२ असोज । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत् सेवा लिइरहेका उपभोक्ताहरूलाई बक्यौता महसुल २१ दिनभित्र अनिवार्य रूपमा तिर्न सूचित गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमा भित्र भुक्तानी नगरेमा कानुनी कारबाही गरिने स्पष्ट चेतावनीसमेत दिएको छ।
प्राधिकरणका अनुसार, यसअघि पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया र कारबाहीहरू खारेज गरिएका छन्। अब उपभोक्ताहरूले मिति २०८२ साल कात्तिक १७ गतेभित्र बक्यौता महसुल तिर्नु पर्नेछ। प्राधिकरण सञ्चालक समितिको २०८२ असोज १० गते बसेको बैठकको निर्णयअनुसार यो सूचना जारी गरिएको हो।
बक्यौता तिर्ने उपभोक्तालाई मासिक किस्ताबन्दीमा रकम बुझाउने सुविधा पनि दिइनेछ। इच्छुक उपभोक्ताले बढीमा २८ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
यदि तोकिएको समयभित्र महसुल तिर्ने काम नगरेमा विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्राधिकरणले चेतावनी दिएको छ।



















