Dhulikhel Eco Banner new

कोरोना बीमा दावी गरेका बीमितहरुले भुक्तानी रकम पाउने

5.12K
shares

काठमाडौं, २८ भदौ । कोरोना बीमा दावी गरेका सबै बीमितहरुले दाबी भुक्तानी रकम पाउने भएका छन् । सरकारको दायित्वमा पर्न आउने रकम अर्थमन्त्रालयले निकास गरेपछि बीमितहरुले दाबी बापतको रकम पाउने भएका हुन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार, सरकारको दायित्वमा पर्न आउने रकम मध्ये एक अर्ब रुपैयाँ निकास गर्ने निर्णय भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पनि अर्थमन्त्रालयबाट रकम निकास गर्ने निर्णय भएको जानकारी गराए ।

कोरोना बीमा गरेका बीमितले लामो समयसम्म पनि दाबी भुक्तानी पाएका थिएनन्, सरकारले आफ्नो दायित्वमा पर्न आउने रकम निकास गरेपछि अब केही बीमितले दाबी भुक्तानी पाउनेछन् ।

कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यस भन्दा बढी दाबी परेमा सम्पुर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ ।

मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट गरी कुल ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् । तर सरकारको दायित्वमा पर्न आउने रकम भने अहिलेसम्म निकास गरेको छैनन् ।