Dhulikhel Eco Banner new

नेपाल लाइफको ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत

3.65K
shares

काठमाडौं, ३० जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने भएको छ ।

कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत शेयर स्वामित्व ५१ प्रतिशतमा झार्न लागेको हो । संस्थापकतर्फको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत भएपनि सर्वसाधारण तर्फको हाल कायम ४० प्रतिशत शेयर स्वामित्व ४९ प्रतिशत कायम हुनेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रहेको छ । कम्पनीले हाल कायम शेयर स्वामित्व परिवर्तनको प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृत गराई २१औं वार्षिक साधारण सभाबाट पनि पारित गरिसकेको छ ।

स्वामित्व परिवर्तनको प्रकृया अघि बढाउन लागेको कम्पनीले यदि आफ्नो स्वामित्वको शेयर परिवर्तन गर्न नचाहने संस्थापक शेयरधनीहरूलाई आगामी ७ दिनभित्र लिखित जानकारी गराउन आग्रह गरेको छ ।

आफ्नो हक हिस्सामा पर्ने संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन नगर्न भनी स्वघोषणा गर्ने सदस्यहरूको हक हिस्सा बाकी रहेका संस्थापकहरूले त्यस्तो शेयरको अनुपात उपयोग गर्न सक्ने जानकारी समेत कम्पनीले गराएको छ ।

तोकिएको अवधिभित्र आफ्नो हकको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन नगर्ने भनी निवेदन नदिएका संस्थापक शेयरधनीहरूको हकको संस्थापक शेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम प्रक्रिया अघि बढाईने भनाइ कम्पनीको छ ।