बीमा कम्पनीले सैद्धान्तिक सहमति पछि आफूखुसी मर्जर भंग गर्न नपाउने
वि.सं.२०७९ असार ७ मंगलवार ११:५७
shares

काठमाडौं, ७ असार । बीमा कम्पनीहरुले एक आपसमा गाभ्ने र गाभिने विषयमा सैद्धान्तिक सहमति गरिसकेपछि प्रक्रिया भंग गर्न नपाउने भएका छन् । समितिले कम्पनी ऐन तथा मर्जर सम्बन्धी निर्देशिकाअनुसार मर्जर सम्बन्धी प्रकृया शुरू भएर सैद्धान्तिक सहमति भइसके पछि आफूखुसी प्रक्रिया भंग गर्न नपाईने जानकारी दिएको हो ।
सहमति भएर छुट्टीनु भन्दा निवेदन दिनका लागि तयार भएका बीमा कम्पनीहरुलाई यस्तो निर्देशकन दिइको बीमा सममितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए । ‘गाभ्न, गाभिन तथा प्राप्तिका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका बीमा कम्पनीहरूले गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियालाई आफूखुशी भंग नगर्न नपाउने विषयमा सबैलाई जानकारी दिएका छौँ,’ पौडेलले भने ।
तर बीमा समितिको सहमतिमा भने छुट्टीन पाउने उनले बताए । बीमा कम्पनीले मनासिब कारण खुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा एक्वीजिसन समितिको सहमति सहित निवेदन पेश भएमा बीमा समितिले सैद्धान्तिक सहमतिपछि रद्ध गर्न सक्ने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।
समितिले सोमबार परिपत्र जारी गर्दै मर्जर पश्चात बन्ने बीमा कम्पनीहरूमा सर्वसाधारणको शेयर स्वामित्व न्यूततम ३० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको हो । समितिले मर्जर सम्बन्धी प्रकृया शुरू भई सैद्धान्तिक सहमति प्राप्त भएका तथा सहमतिका लागि निवेदन दिन इच्छुक कम्पनीहरूलाई जारी पुँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणको हुने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
तर, मर्जर तथा एक्वीजिशन पश्चात कायम हुने बीमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणको लागि बिक्री गर्नुपर्ने र नपुगेको अंश सर्वसाधारणमा शेयर जारी गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।


















