‘रुद्राक्षमा सरकारको ध्यान पुगेन, कृषि बालीका रुपमा विकास हुनु पर्छ’
वि.सं.२०७९ असार १६ बिहीवार १६:४२
shares

काठमाडौं, १६ असार । नेपालले निकाशी गर्ने र विदेशमा माग भएको बस्तुहरुमध्ये रुद्राक्ष पनि एक हो । यसको माग भारत र चीनको बजारमा अत्याधिक रहेको छ । यसको वार्षिक रुपमा करिब ५ अर्बको व्यापार हुने गरेको छ । यसमध्ये ७५ प्रतिशत ब्यापार नेपालभन्दा बाहिर र २५ प्रतिशत स्वदेशमा हुने गरेको छ । पछिल्लो समय कोरोनाका कारण यो व्यवसायमा समेत असर परेको छ । यो व्यवसायको पछिल्लो अवस्था के छ ? व्यापार कस्तो छ भन्ने विषयमा नेपाल रुद्राक्ष व्यवसायी संघका उपाध्यक्ष अगम सिंह राईसँग केटिएम भ्वाइसकर्मी महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश :
छिल्लो समय रुद्राक्षको व्यवसाय कस्तो छ ?
व्यापार अहिले खस्किदो अवस्थामा छ । कोरोनाको कारणले गर्दा यसको व्यवसायी निकै खस्किएको अवस्था हो । पहिला धेरै राम्रो थियो पहिलाको तुलनामा अहिले व्यापार कम छ । व्यापार कम भए पछि आम्दिानी कम हुने भइहालो । यो अवस्थाबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा विभिन्न सरोकारवालासँग छलफल भइरहेको छ ।
यो सँग सम्बन्धित निकाय र व्यवसायी तथा कृषकसँग यसलाई कसरी अगाडि बढाउने भन्नेबारे हामीले छलफल गरिरहेका छौँ। हामीले सरकार पक्षसँग पनि हाम्रो कुरा पनि राखेका छौँ । उहाँहरुले पनि राम्रै प्रतिक्रिया दिनु भएको छ ।
कोरोनाका कारणले कुन–कुन क्षेत्रमा समस्या भयो उत्पादनमा कि बजारिकरणमा समस्या भयो ?
कोरोनाका कारणले बजारीकरणमै समस्या भयो । पहिलो त हाम्रो छिमेकि दुई देश भारतमा र चीनमा हामीले व्यापार गर्ने, निर्यात गर्ने गरेका छौँ त्यहि धेरै माग हुन्छ । पछिल्लो समय जब हामीलाई कोरोनाले च्यापोे हाम्रो खास गरेर चीन पट्टिबाट व्यापारी आउन पाएनन् र चीनमा पनि केही आर्थिक मन्दिको संकेत आयो ।
जसका कारण व्यापारमा असर गरेको अवस्था हो । यसका साथै भारत तर्फ पनि कोरोनाले ग्रस्त बनाएका कारण आर्थिक मन्दिकै अवस्था देखियो । जसका कारण त्यहाँ पनि रुद्राक्षको प्रयोजनका लागि त्यति उत्साहित देखिएन र व्यापार एकदमै खस्कन पुग्यो ।
कोभिडभन्दा पहिला हाम्रो व्यापारको अवस्था कस्तो थियो, हामी कति निकासि गर्थेउ कोरोना भन्दा पछि अथवा कोरोनाको अवस्थामा आइपुग्दा हाम्रो निकासीको अवस्था कस्तो छ ?
कारोनाभन्दा पहिला व्यापारिहरुका लागि एकदमै पिअ टाइम रहेको थियो । कोभिडभन्दा पहिले वार्षिक रुपमा ४ देखि ५ अर्ब अनुमानित व्यापार हुन्थ्यो । तर अहिले कोरोना पछि चााहि हाम्रो व्यापार घटेर ५० देखि ६० करोडको हाराहारीमा झरेको छ । यो निकै निराशाजनक अवस्था हो ।
कोरोनाका कारणले ७५ प्रतिशत व्यापार घटयो ?
चाईना पट्टि त एकदमै घट्यो । चाइनाबाट व्यापारी आउन नसकेको अवस्था हो भने यताबाट पनि व्यापारी जान नसकेको र सामान समेत पठाउन नसकेको अवस्था हो । नेपाली रुद्राक्ष चीन र भारतको बजारमा जाने हो तर कोभिडका कारण व्यापारी आउनै छाडे ।
कोरोनाको समयमा जो चीन फर्कन पाएन उनीहरुले नै त्यो समयमा व्यापार धानेको अवस्था हो । उहाँहरुले नै जे जति खरिद गर्नु भयो त्यति नै मात्र भयो । भारत तर्फ पनि कोरोनाले गर्दा माग एकदमै कम भयो । त्यसैले गर्दा एकदमै समस्या भयो ।
वार्षिक रुपमा ५ अर्बको व्यापार गछौँ, ५ अर्बसम्म निर्यात गर्ने व्यवसायको तपाई नेतृत्वमा हुनुहुन्छ ? सरकारी पक्षले कसरी लिरहेको छ ?
रुद्राक्ष हाम्रो देशव्यापी उत्पादन नभएकाले पनि सरकारले ध्यान नदिएको हो कि भन्ने भान हुन्छ । रुद्राक्षको उत्गम थलो प्रदेश नं.१ हो । प्रदेश १ को पनि सबै जिल्लामा यसको खेती हुँदैन । भोजपुर जिल्लाको दिङलालाई यसको उत्गम थलो मानिन्छ । त्यसपछि छिमेकि जिल्ला संखवासभा हुँदै धनकुटा यसको एकदमै बढी उत्पादन हुने क्षेत्र हो ।
तर यि तिनवटा जिल्ला चाहि एकदम मुख्य भएकाले हो किन सरकारको ध्यान एसमा विलकुल दिएको अवस्था छैन् । हामी सरकारसंग पटक पटक यो कुरा राखेका पनि छौँ । म आफै प्रदेश सरकारमा धेरै समयदेखि यो विषयमा कुरा गर्दै आएको पनि छु ।
पहिलाको प्रदेश सरकारको मुख्यमन्त्री ज्युले आश्वासन त दिनुभएको थियो तर मन लगाएर ध्यान दिनु भएन । तर अहिलेको प्रदेश सरकारको मुख्यमन्त्री हुनुहुन्छ राजेन्द्र राई उहाँले भने रुद्राक्षको महत्व बुुझेर कसरी बिक्री भैराखेको छ । यसको व्यापारले हाम्रो जनजिवनमा कसरी असर पारेको छ भन्ने उहाँलाई प्रत्यक्ष थाहा भएकाले हामीलाई ५ करोड रुपैयाँ रुद्राक्ष सहित भनेर बजेमा संवोधन गर्नु भएको छ ।
म आफैले यो बजेटलाई कसरी सञ्चालन गर्ने भन्नेबारे भरखरै मुख्यमन्त्रीसँग भटेर छलफल गरेर आएको छु । केन्द्र सरकारमा पनि धेरै पटक कुरा गरेको अवस्था हो । यो चाहि बन उपजमा छ । यसलाई कृषि उपजमा राख्नका लागि हामीले भनिरहेका छौँ । यसको बिक्री भारत तर्फ चाही पहिले देखिनै र चीन तर्फ भने भर्खर नै बिक्री गर्न सुरुवात भएको हो ।
भारतीय नागरिकहरु अथवा हिन्दु धर्मवालम्बिहरु, नेपालीहरु विश्वको जहाँ जहाँ हुनुहुन्छ यो नेपाली रुद्राक्षको महत्व धेरै छ । रुद्राक्ष धेरै देशहरुमा उत्पादन हुन्छ तर नेपालको रुद्राक्षको महत्व धेरै छ । विश्वको धेरै देशवाट यो माग हुन्छ, त्यसैले गर्दा हाम्रो कृषकहरुले चाहि खेतवारीमा अरु अन्न वालि लगाउन छाडेर यसको खेती गर्न थालेका छन् ।
हामीले यसलाई कृषि उपजमा ल्याउनका लागि धेरै पटक प्रदेश सरकार र केन्द्र सरकारमा आवाज उठाएक छौँ । आस्वासन दिए पनि काम भएको छैन ।
रुद्राक्षलाई वन पैदावार क्षेत्रमा राखेका कारण तपाईहरुलाई गाह्रो भएको हो ?
यसलाई कृषि क्षेत्रमा नराखेका कारण निकासीमा असहज छ । कर धेरै तिर्नु पर्छ । अन्य कानूनी व्यवस्थाहरु पनि झन्झटिला रहेका छन् । हाम्रो खेतवारीमा अन्नवाली लगाउन छाडेर यसलाई प्राथमिकतामा दिएर रोपिएको छ ।
४५ जिल्लामा यसको खेती गर्न थालिएको छ । कृषिमा ल्याउन पाए धेरै सहज हुने थियो । निर्यात बढाउन सकिने थियो । सरकारले हाम्रो स्वदेशी उत्पादन जुन विदशमा प्रख्यात छ तर सरकारले किन ध्यान दिन सकेको छैन ।
रुद्राक्षको प्रयोग खास के–केमा हुन्छ ?
रुद्राक्ष भनेको धार्मिक आस्थामा जोडिएको वस्तु हो । यसको प्रयोग पुजा सामग्रीमा धेरै हुन्छ । विभिन्न हस्तकला बनाएर धेरै बिक्री हुने गरेको छ । नेपालमा मात्रै होइन विदेशमा पनि धेरै माग छ । यसमा औषधिय गुण समेत छ ।
भारतबाट वैद्यहरुले समेत औषधी बनाउन भनेर माग गर्ने गर्नु भएको छ । चीनमा पनि औषधिजन्य गहना बनाउनका लागि पनि प्रयोग हुने गरेको छ । यो लगाए पछि जब मान्छेको शरिरमा छुन्छ, तब यो चम्किदै जान्छ । यसभित्र एक किसिमको तेल हुन्छ, जुन शरिरलाई छुँदा चम्किन्छ । यसकारण पनि चीनमा ब्रासलेट अर्थात चुरा, माला बनाउँनका लागि प्रयोग गर्ने गरिएको छ । हामीले दिएको चीज उनीहरुले बाला बनाएर नेपाल आउँदा हामीले नै चिन्दैनौँ ।
भनेपछि यहाँबाट कच्चा पदार्थ जान्छ र उताबाट सामान बनेर आउछ हो ?
हो । अहिले कच्चा पदार्थको रुपमा जान्छ । हामीले यहीँ फाइनल गुड्स बनाएर पठाऔँ भनेका छौँ । उद्योग वाणिज्य महासंघबाट सरकारसँग पनि कुरा गरिएको छ । धेरै ठाउँमा विभिन्न मुर्तिहरु बनाएर राखिएको हुन्छ । बिक्री पनि गरिएको हुन्छ ।
मुर्ती बनाउनका लागि पनि बनाउने सामाग्री चाहिन्छ । त्यो सामाग्री र तालिमका लागि प्रशिक्षक उपलब्ध गराउनका लागि महासंघमा पनि कुरा गरेका छौँ । महासंघले पनि यसका लागि सकारात्मक भूमिका खेलिरहेको छ ।
अहिले हाम्रो संघको अध्यक्ष मनोजकुमार चापागाईं हुनुहुन्छ । उहाँको कार्यकाल सुरु भएसँगै महासंघमा आवद्ध हुने र त्यसभित्र भएका निकायहरुसँग समन्वय गर्ने, हाम्रा आवाजहरु उठाउने काम गरेका छौँ । उहाँहरुले हाम्रा मागहरुमा सकारात्मक प्रतिक्रिया दिनु भएको छ । हामी आशावादी पनि छौँ ।
प्रदेश १ को सरकारले पनि १ करोड रुपैयाँ सीप मूलक तालिम र बजार व्यवस्थापनका लागि बजेट छुट्याएको छ । पहिलो कुरा त हामीले अब किसान र व्यवसायीहरुसँग मिलेर अघि बढ्ने छौँ । आईएलओ र उद्योग वाणिज्य महासंघले पनि हामीलाई सहयोग गर्ने आश्वासन पाएका छौँ ।
यो क्षेत्रमा दक्ष जनशक्तिको अवस्था के छ ? हामीले कच्चा पदार्थको सट्टा सामाग्री नै बनाएर निर्यात गर्न सक्ने सम्भावना कत्तिको छ ?
दक्ष जनशक्ति नभएको होइन । हामीसँग हुनुहुन्छ । हामी आफै बनाएर पनि पठाउने गरेका छौँ । हामी अझ धेरै दक्ष जनशक्ति उत्पादन गर्न सक्छौँ । अझ धेरै दक्ष जनशक्ति उत्पादन गर्न सक्ने र सीपमुलक तालिमहरु दिन सके हामीले कच्चा पदार्थको रुपमा मात्रै नभएर सामाग्री नै बनाएर निर्यात गर्न सक्ने थियौँ ।
वार्षिक ५ अर्बको व्यापार गछौँ भन्नु भयो । कति मात्रामा कसरी निर्यात गर्नु हुन्छ ? यसको मूल्य कसरी निर्धारण हुन्छ ?
पहिले हामी ५ अर्बसम्मको व्यापार गथ्यौँ । तर अहिले खस्किएको छ । ५०/६० करोडमात्रै होला । यसको ९० देखि ९५ प्रतिशतसम्म हामीले निर्यात नै गछौँ । हाम्रो आन्तरिक उपयोग धेरै छैन । यहाँ त माला लगाउने, मन्दीरमा चढाउने मात्रै हो ।
हामीले कच्चा पदार्थ दिए पछि हामीले भन्दा सयौँ गुणा राम्रो सामान चीनबाट बनेर आउँछ । त्यति राम्रो बनाउन हामी दक्ष बनेका छैनौँ । भारतमा भने माला धेरै निर्यात हुने गरेको छ । भारतमा हामीले २५ देखि ३० प्रतिशत बनाएरै पठाउँछौँ, बाँकी कच्चा पदार्थकै रुपमा जान्छ ।
हामीले बनाउँदा चाहिने सामानहरु यहाँ भन्दा भारतमा धेरै सस्तो हुन्छ । यहाँ बनाउन नसक्ने होइन । तर लागत बढी भएकाले उतै पठाउँछौँ । यसकारण हामीले यो समस्या समाधान हुनुपर्छ भनेका हौँ ।
रुद्राक्षको खेती कसरी गर्ने ? कुन ठाउँमा राम्रो फल्छ ? एकपटक रोपेपछि कति समय सम्म आम्दानी दिन्छ ?
यसको विरुवा जेठ देखि साउनसम्म रोप्दा राम्रो हुन्छ । तर पानी भएको ठाउँमा राम्रो स्याहार गर्दा अरु समयमा पनि रोप्न सकिन्छ । विरुवा बचाउने अवस्था भए यो जहिले रोप्दा पनि हुन्छ ।
यसले फल दिने भनेको ५ वर्ष पछि हो । यो मधेश, पहाड जहाँ पनि हुन्छ, पहाडको उच्च भागमा पनि हुन्छ । तर हामीले व्यापार गरे अनुसार कच्छड एरियामा फलेको रुद्राक्षको बढी मान्यता पाएको अवस्था हो । त्यसको आकार, रुप सबै मिलेको हुन्छ ।
यो झापामा पनि हुन्छ भोजपुरको माथि तुसारो पर्ने ठाउँमा पनि हुन्छ । तर तराईको छिटै पाक्ने भएकाले अलि त्यसमा हुन पर्ने गुण राम्रो नहुने हो कि भन्ने पनि हो । यसलाई खास गरी पहिलो चेकिङ विधि भनेको पानिमा डुवाएर हेर्ने हो ।
मधेशमा फलेको रुद्राक्ष अलि ढीलो पानीमा तैरिने र ठिक्क हावा पानी मिलेको जस्तोे दिङला पनि चिउरेवोटेको कुरा आउँछ । त्यहाँको राम्रो पनि भनिन्थ्यो पहिला अहिले त नेपालको त्यस्तो धेरै ठाउँहरु पनि राम्रो उत्पादन भएको अवस्था छ । कच्चा प्रदार्थ त हामीले बेचिहरेका छौँ, तर यसमा भएको ओषधिय गुण पत्ता लगाउनु जरुरी छ ।
ओषधिको गुण पत्ता लगाउन हामीले व्यक्तिगत तवरवाट सकिदैन । हामीले उत्पादन मात्र गर्न सक्छौँ । यसमा हामीलाई नेपाल सरकारबाट सहयोग हुन पर्छ । अहिले देशमा विदेशी मुद्राको एकदमै समस्या छ । हामी हाम्रो स्वदेशी उत्पादनलाई प्रर्वद्धन नगर्ने हो भने हामीलाई विदेशी मुद्रा त्यतीकै आउने कुरा भएन ।
यसमा के छ त यसलाई चीन र भारतले धेरै मन पराएर लैजान्छन् । यसको महत्व बाहिरसम्म पुर्याउनु पर्ने देखिन्छ । चीन र भारतले त वुझेको होला यसको महत्व छिमेकी भएकाले अध्ययन गर्नु भाको होला तर हामीले पनि त पत्ता लगाउनु परो । यसमा के गुण छ भनेर यो हामीले पत्ता लगाउन सक्याँै भने हामीले अरु देशमा पनि निर्यात गर्न सक्छौँ ।
भातर र चाइना जस्ता देशमा रुद्राक्ष उत्पादन हुन्छ कि हुँदैन ?
चाईनामा नेपालबाट विरुवा लगेर गएको भन्ने सुनिन्छ तर आधिकारी रुपमा यसका विषयमा कतै पनि जानकारी छैन् । तर कति तथ्य थियो हामीले पत्ता लगाउन सकेका छैनौँ । तर त्यहाँको हावा पानीले गर्दा नेपालको जस्तो उत्पादन हुन सकेन भन्ने सुन्नमा आएको छ । तर भारतमा भने यसको खेती गरिन्छ । जस्तो आसाम, लखनउमा रुद्राक्षको खेती हुने गरेको छ । तर त्यहाँ नेपालमा उत्पादन हुने जस्तो गुणस्तरको रुद्राक्ष फलेको पाइएन् ।
नेपाली रुद्राक्षमा यति विसवाश छ, झापाको वाउनडांगीमा पनि भोजपुरको दिङलामा जत्तिकै मात्रामा यसको खेती गरिएको छ । त्यसको ठयाक्कै पारीपट्टि रहेको पानी ट्याङकि भन्ने ठाउँ छ त्यो भारतमा पर्छ त्याहाँ पनि नेपालीहरुको बस्ती छ । रुद्राक्षको खेती पनि हुन्छ ।
नेपालबाट विरुवा लगेर त्यहाँ पनि खेती गरेका छन् । भारतमा गएर पानी ट्याङ्कीकैै रुद्राक्ष हो नेपालकै रुद्राक्ष जस्तो छ भन्दा पनि ग्राहकल लिन मान्दैनन् । नेपाली रुद्राक्षको मान्यता निकै रहेको छ ।
नेपाली सामाग्रीको गुणस्तरमा धेरै प्रश्न गरिदैन तर बजार पाएको हुँदैन किन त्यस्तो हुन्छ ?
रुद्राक्षमा त्यस्तोहुदैँन किन भने भारत र चीन दुवैले ट्राई नगरेको होईन हामीले बुझ्दा खेरी हाम्रै नेपालीहरु आसाम गएर बसेका छन् आसाममा हाम्रो जस्तो उत्पादन हुदैँन । हामी आफैले चिन्न सक्छौँ यो नेपालको हो कि बाहिरको हो भनेर । यसरी हेर्दा भारतमा उत्पादन भएर नेपाली रुद्राक्षको बजारमा कुनै असर गर्दैन् । अलैँचीमा नेपालले भोग्दै आएको जस्तो रुद्राक्षमा हुँदैन् । सायद भरखरै आएको होला तर रुद्राक्ष त वर्षौ देखि हाम्रो बाजेको पालोदेखी साधुहरुले आएर लग्ने गरेका थिए ।
त्यतिखेर दान भनेर लग्थे तर उहाँहरुले त्यहाँ धेरै मुल्यमा बच्नु हुँदो रहेछ । पहिला चाईनिजहरुले भारतबाट लैजानु हुँदो रहेछ तर नेपालमा घुम्न आउँदा पशुपतिको अगाडि रुद्राक्ष देखेर लैजानु भए छ । यसरी चीनियाँहरुले नेपाली रुद्राक्ष लैजान थालेका हुन् ।
रुद्राक्ष व्यवसायमा कति कृषक आवद्व छन् ?
यसमा यति नै किसान संलग्न छन् भनेर त भन्न सकिदैन् । करिब १० हजार भन्दा बढी किसान यसमा आबद्ध रहेको अवस्था हो । खासमा भोजपुरको उत्तरी भेग संखुवासभाको ७५ प्रतिशत धनकुटा ५० प्रतिशत स्थानका प्रत्यक घरमा एउटा रुद्राक्षको बोट देख्न सकिन्छ । इलाममा पति त्यहाँको भुभागको २५ प्रतिशत भुभागमा यसको खेती भएको पाइन्छ । पछिल्लो समय खोटाङ, ओखलढुङगा, काभ्रे, सिन्धुपाल्चोक, गोरखा तथा धादिङमा पनि रुद्राक्षको खेती भएको पाइन्छ ।
रुद्राक्षको आयु कति हुन्छ ?
रुद्राक्षको आयु त्यहाँको हावा पानीले त्यहाँको माटोमा निर्भर रहन्छ भन्ने मेरो व्यक्तिगत धारण रहेको छ । १०० वर्ष भन्दा बढि हुन्छ । यसको रुप हेरेर आकार हेरेर मुल्य मान्यता दिन्छन् १०, १२, १५ वर्षसम्म चाँही यसको साईज फरक आउँदैन् त्यसपछि आकारमा फरक आउने हो ।
एक मुखि रुद्राक्ष भनेर सुन्ने गरेको त्यो चै के हो नि ?
धेरै मुखि दाना चाहि कुनै पनि रुखले दिन सक्छ । मुखि भनेको जति धेरै मुखि छ त्यति धेरै बियाँ हुन्छ त्यस भित्र त्यो बुझ्नु पर्छ । एक मुखि त धेरै मुस्किलले पाउन सकिन्छ । हाम्रोमा उत्पादन भएको स्वदेशी उत्पादन हामी आफै नै सटिफाई ल्याव द्वरा आफै गरुम न भन्ने मेरो धारण हो ।
अहिलेसम्म मैले पनि एक मुखि देखेको छैन । वास्तबमा एक मुखि बैज्ञानिक तरिकाले हुदैन । एक मुखि रुद्राक्षमा धेरै प्रकार हुन्छन् । अन्दमुखि भन्ने हुन्छ त्यसमा एक मुखि भन्न मिल्छ । बैज्ञानिक तरिकाले त्यसलाई एक मुखि भन्न मिल्दैन तर त्यो एक मुखि नै भनेर हामीले बेच्ने गरेका छौँ ।
रुद्राक्षमा एउटा मात्र धर्का भएकोलाई एक मुखि भन्ने गरिएको छ । तर खासमा मुखि भनेको त्यो रुद्राक्ष भित्र कतिवटा बियाँ छ भन्ने नै हो । प्रया गरेर रुद्राक्ष भित्र एउटा दाना पाइन्दैन । कहिले काही दुईवटा रुद्राक्षको छाला मात्र टासिएर त्यस भित्रको काठ गाँसिएको छैन र त्यो मध्ये एउटा झर्यो भने त्यसलाई एक मुखि भन्ने गरिएको छ । ५ देखि ६ वटा बियाँ हुदा समेत बाहिर चै एउटा मात्र धर्सा भएकोलाई समेत एक मुखे भन्ने गरिएको छ ।
रुद्राक्षको दानामा चिम्टी किन लगाउछन् ?
तपाईलाई त्यो चिम्टीको कुरा पनि थहा रैछ । त्यो चिम्टी रुद्राक्षको साइज दिनलाई लगाइने गरिएको छ । विशेष गरी चीनियाँ बजारमा चेप्टो खालको रुद्राक्षको माग अत्याधिक रहेको छ । त्यसले गर्दा पनि त्यो चीनमा अत्याधिक माग भएकाले गर्दा त्यो बजारको माग अनुसार नै हामीले त्यसलाई चेप्टो बनाउने गरेका छौँ । तर सुरुमा त्यसले आकार पनि बढाउछ भनेर कतिपय कृषिकले त्यो प्रयोग गर्नुभयो । तर त्यसले आकर चै बढाउदैन साइज बनाउनका लागि मात्रै हो ।
त्यो चिम्टीको विषयमा हामीले पनि विरोध गरेका थियौँ । तर हामीले संघका तर्फबाट विरोध गरेका हौँ । तर बजारमा गलँैचाको माग छ तर हामी ग्राहकलाई राडी लैजा भनेर हुन्छ । त्यो भएर हामीले पनि त्यसको समर्थन गर्न लागेका छौँ । अहिले मैले पनि त्यो चिम्टी बेच्ने गरेको छु । म यो तपाइको केटिएम भ्वाइस मार्फक त्यतिबोला विरोध गरेकोमा म सवै माहानुभवा सँग माफि पनि माग्न चाहान्छु ।















