Dhulikhel Eco Banner new

‘सहरमा उद्योग खोल्नका लागि जमिन महंगो, गाउँमा पूर्वाधार अभाव’

15.44K
shares

काठमाडौं, २० असार । केही वर्ष पहिले दुधले सही मूल्य नपाएको भन्दै किसानले सडकमै दुध पोक्ने समेत गरेका थिए । पछिल्लो समय नेपालमा दुध उत्पादनको अवस्था, दुधको माग र आपूर्ती कस्तो छ ? यसै पेरिफेरिमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसँग केटिएम भ्वाइसकर्मी महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश :

डेरी व्यवसायमा संलग्न व्यवसायीहरुका समस्या के–के छन् ?

डेरी व्यवसायीको सबैभन्दा ठूलो समस्या भनेको दुध धेरै हुने र कम हुने हो । कात्तिक महिनादेखि माघ महिनासम्म दुध बढी हुन्छ । माघको अन्तिम देखि असोजसम्म हामीलाई दुध पुग्दैन । दुध उत्पादन हुने जहिले पनि उही मात्रामा हो तर माघ देखि असोजसम्म माग बढी हुन्छ ।

अर्को समयस्या भनेको नेपालमा व्यवसायीभन्दा पनि निर्वाहमुखी पशुपालनबाट दुधको माग धानिएको अवस्था हो । अनि दुधलाई चिसोमा मात्रै राख्नु पर्ने हुन्छ । त्यसका कारण चिस्यान केन्द्रको अभाव अर्को समस्याका रुपमा रहेको छ । भौगोलीक रुपमा टाढाटाढाबाट दुध ल्याएर राख्नु पर्ने हुन्छ ।

अर्को भने उद्योग खोल्नका लागि जग्गाको उपलब्धता नहुनु हो । यदि जग्गा किन्ने हो भने सबै लगानी जग्गामा जान्छ । अनि उद्योग खोल्न सक्ने अवस्था नै हुदैन । विदेशको कुरा गर्दा कृषि तथा किसान संलग्न भएको उद्योग खोल्दा राज्यले जमिन लिजमा दिने परिपाटी छ । यो नेपालमा छैन । जसका कारण उद्योग खोल्नका लागि निकै गारो हुने अवस्था छ ।

विदेशमा ५०–१०० वर्षका लागि लोनमा जमिन दिने सिस्टम हुन्छ । नेपालमा गाउँमा गएर उद्योग गर्न सकिदैन । त्यहाँ विद्युत तथा सडकको पहँच पुग्दैन् । सहरमा खोल्दा जमिन किन्दा महगो पर्ने समस्या छ ।

नेपालमा औद्योगीक क्षेत्रको पनि कमि छ । जति छन त्यतिले पुगेको छैन् । त्यसमाथी भएका औद्योगीक क्षेत्रमा पनि उद्योग सञ्चालन नभएको अवस्था छ । उद्योगका लागि ठाउँ लिएकाहरुले पनि सञ्चालन नगरेको अवस्था छ । त्यस्तो ठाउँलाई चलाउन सक्नेहरुलाई दिनु पर्छ ।

अर्को समस्या भनेको गाइ पाल्नकै लागि समस्या छ । दुध दिनेबलासम्मका लागि ठिक छ तर थारो भइसकेपछि त्यसको व्यवस्थापन गर्नु यो क्षेत्रका किसानको चुनौति हो । गाईलाई आयात निर्यात गर्न पाइदैन् । दुध नदिने भए पनि पाल्नु पर्ने बाध्यता हुन्छ । जसबाट उत्पादन हुदैन, खर्चमात्रै हो ।

नीतिगत रुपमै समस्या हो त ?

हो । नीतिगत रुपमा पनि समस्या छ । ठूला व्यवसायीलाई हेरेर मात्रै राज्यले नीति निर्माण गरिरहेकको अवस्था हो । तर साना तथा मझौला उद्योगको भुमिका धेरै छ । साना व्यवसायीलाई संरक्षण गर्ने किसिमको नीति आवश्यक छ । साना उद्योग कलकारखाना मैत्री नीति पनि बनाउँनु पर्ने देखिन्छ ।

यसका साथै उद्योग खोल्नका लागि प्रक्रियागत समेत झन्झट रहेको छ । गाडि किन्न जाँदा सहजै ऋण पाइन्छ तर व्यवसाय गर्नका लागि ऋण पाउनै मुस्किल छ । व्यवसायलाई नै धितो राखेर ऋण दिने व्यवस्था गर्नु पर्छ । जग्गा आफ्नो नाममा नभए पछि लोन पाउँदैन । जग्गा किने पछि उद्योग खोल्नै सकिदैन् । अनि कसरी गर्ने उद्योग ।

दुधजन्य पदार्थमा नेपाल आत्मनिभर बन्न सकेको छ ?

नेपालमा उत्पादन भएको दुधले ८० प्रतिशत माग पुरा गरेको छ । २० प्रतिशत भने अझै पनि बाहिरैबाट ल्याउनु पर्ने अवस्था छ । अबको पाँच वर्ष भित्र दुधमा पूर्ण रुपमा आत्मनिर्भर हुने गरी काम कामहरु भइरहका छन् । नेपालमा अहिले दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्छ । त्यसमध्ये ३१ लाख लिटर दुध बजारमा आउँछ ।

जनसंख्याको वृद्धि र दुधको उत्पादन बराबर जस्तो छ । जसले दुधमा आत्मनिर्भर हुनका लागि केही समय लाग्छ कि भन्ने हो । दैनिक रुपमा दुध पनि बढीरहेको छ अनि जनसंख्या पनि बढीरहेको छ । वृद्धि हुने दर बराबर भएपछि समय केही बढी लाग्ने जस्तो पनि देखिन्छ ।

केही समय अघि दुध सडकमा फालिएको पनि देखियो, यस्तो किन हुन्छ ?

यस्तो हुने भनेको दुध बढी भएको सिजनमा हो । पहिले पहिले पाउडर दुध बन्ने कारखाना थिएनन् जसका कारण यस्तो अवस्था आएको हो । तर अहिले केही मात्रामा कारखानाहरु बनिसकेका छन् । जसका कारण अहिले पाल्नु पर्ने अवस्था हुँदैन । अहिले ७–८ वटा पाउडर दुध बनाउने कारखाना छन् ।

अहिले दुध धेरै भए पछि पनिर, चिज, छुर्पी, धुलोदुध बनाएर पनि त्यसको सदुपयोग गरिएको छ । त्यसैले अहिले दुध फालिदैन् । धेरै भएको समयमा पाउडर बनाएर राख्ने अनि कम भएको बेला त्यसलाई प्रयोग गरेर नपुग मागलाई थेग्ने गरेका छौँ ।

व्यवसायीका लागि सरकारले के गरिदियो भने सहज हुन्छ ?

सरकारले साना तथा घरायसी डेरीहरुलाई संरक्षण तथा प्रोत्साहन गर्नु पर्‍यो । नेपालमा करिब १० हजार घरायसी डेरीहरु रहेका छन् । अरु बाँकी करिब ५०० को हाराहारीमा होलान् । घरायसी डेरीले आपूm स्वरोजगार हुनुका साथै स्थानीय एक दुई जानालाई रोजगारी पनि दिएको अवस्था हो । घरायसी डेरीले ५० औँ हजारलाई रोजगारी दिएको अवस्था छ ।

सरकारले सानालाई मझौला र मझौलालाई ठूला उद्योगमा रुपान्तरण गर्नु पुर्‍यो । सानालाई प्रोत्साहन हुने किसिमको नीति सरकारको हुन पर्‍यो । उनीहरुले व्यवसायसँगै केही व्यक्तिलाई रोजगारी पनि दिएका छन् । यसका लागि पनि सरकारले उनीहरुको संरक्षण गर्नु जरुरी छ ।

नेपालमा चार प्रकारका डेरी रहेका छन् । तर बजार धानेको भनेको घरायशी डेरीले नै हो । ठूला डेरी र सरकारले घरायशी डेरी समस्या भए भनेर भनिरहेका छन् । बजार धान्ने पनि उनीहरु, उपभोक्ताको विश्वास पनि उनीहरुमा छ । ति घरेलु डेरीको राज्यले संरक्षण गर्नु पर्‍यो । उनीहरुलाई अनुदान दिनेदेखि संरक्षण गर्ने काम पनि गर्नु पर्ने देखिन्छ ।

ठूला डेरीले विदेशबाट आएका उत्पादनसँग प्रतिप्रर्धा गर्ने र अरु काम साना तथा घरायशी डेरीलाई जिम्मेवारी दिनु पर्छ । यसबाट सबैको बजार सहजता पनि हुन्छ र अवस्था अनुसार व्यवयास पनि गर्न पाए ।

घरेलु डेरीले अहिले टोलटोलमा मात्रै होइन घर–घरमै पुगेर सेवा दिइरहेको अवस्था छ । उनीहरुले मेहनत गरेका छन् । त्यसमा राज्यले सहुलियत दिएर संरक्षण गर्नु पर्‍यो । राज्यको निगरानिमा रहेर अनुशासित रुपमा व्यवसाय गर्ने भनेको डेरी मात्रै हो ।

वार्षिक रुपमा दुधको उत्पादन कति हुन्छ ?

दैनिक रुपमा बजारमा आउने भनेको ३१ लाख लिटर हो । यसरी दैनिक रुपमा बजारमा अएको हिसाब गर्दा वार्षिक रुपमा १ अर्ब ११ करोड, ६० लाख लिटर दुध नेपाली बजारमा आउँछ । यो औपचारीक रुपमा नेपाली बजारमा आएको तथ्यांक हो । उत्पादन हुने भनेको दैनिक ६२ लाख लिटर हो । तर बसै बजारमा आउँदैन ।

बजारमा आएकोमध्ये ५० प्रतिशत दुध नै बिक्री हुन्छ । त्यस्तै ३० प्रतिशत दहीका रुपमा र २० प्रतिशत पनिर, चिज, छुर्पी, खुवा लगायतका वस्तु उत्पादनमा प्रयोग हुने गरेको छ ।