Dhulikhel Eco Banner new

स्नो रिभर्सको आईपीओ भर्ने अन्तिम दिन

2.42K
shares

काठमाडौं, १२ चैत । स्नो रिभर्स लिमिटेडले निष्काशन गरिरहेको प्रथम चरणको आईपीओअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ।

कम्पनीले चैत ९ गतेदेखि आईपीओ निष्काशन सुरु गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति प्राप्त गरेको कम्पनीले जनाएको छ।

हाल कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गरिरहेको छ।

आयोजना प्रभाविततर्फ अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता र अन्य प्रभावित क्षेत्र सिरिजङ्गा गाउँपालिका वडा नं. १ देखि ७, सिदिङ्वा गाउँपालिका वडा नं.५ र ६, पाथीभरा याङवारक गाउँपालिका वडा नं. ५ र ६ तथा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. १ का बासिन्दाका लागि समान ४ लाख ६८ हजार ७५० कित्ता सेयर छुट्याइएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा कार्यरत रहेकाहरूले मात्र आवेदन दिन सक्नेछन्। यस समूहका लागि न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

यस्तै आयोजना प्रभावित स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज बैंकिङ समयभित्रै आवेदन दिनुपर्नेछ भने आयोजना प्रभावित स्थानीयका लागि आवेदन दिने म्याद चैत २३ गतेसम्म कायम रहनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ।