Dhulikhel Eco Banner new

कालिमाटीका तरकारीमा भेटियो अत्यधिक विषादी, तत्काल नष्ट गर्न निर्देशन

884
shares

काठमाडौं, १४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा भित्रिएका केही तरकारीहरूमा अत्यधिक विषादीको अवशेष भेटिएपछि तिनलाई उपभोग नगर्न र तत्काल नष्ट (विसर्जन) गर्न निर्देशन दिइएको छ ।

केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवन ललितपुरको प्रयोगशाला एकाइले असार १२ गते गरेको द्रुत विषादी अवशेष विश्लेषण परीक्षणको नतिजा अनुसार बजारमा ल्याइएका केही तरकारीहरू मानव स्वास्थ्यका लागि हानिकारक र उपभोगका लागि अयोग्य पाइएका हुन् ।

प्रयोगशालाको परीक्षण प्रतिवेदन अनुसार धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौका, मकवानपुरको थाहा नगरपालिकाबाट ल्याइएको काउली र सल्यानबाट ल्याइएको आलुमा अर्गानोफस्फेट विषादीको मात्रा सुरक्षित सीमाभन्दा निकै बढी पाइएको छ ।

ललितपुरको गोदावरीबाट ल्याइएको गोलभेँडा, मकवानपुरको बन्दागोभी, धादिङको तितेकरेला र भान्टा, रोल्पाको आलु, सिन्धुपाल्चोकको दुई छुट्टाछुट्टै स्थानबाट ल्याइएको आलु, सल्यानको अर्को एक नमुना आलु र भारतबाट आयात गरिएको प्याजमा विषादीको मात्रा तोकिएको सीमाभन्दा कम रहेकाले ती सामग्रीहरू खान योग्य प्रमाणित भएका हुन् ।