Dhulikhel Eco Banner new

अन्तिम चरणमा दोर्दी–१ आयोजनाको निर्माण कार्य

4.99K
shares

काठमाडौं,२३ असार । यहाँ निर्माणाधीन दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरेको यस आयोजनाको निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख उज्जवल सिलवालले बताए ।

उनले भने, “हामीले आयोजनाको अधिकांश काम सम्पन्न गरिसकेको र अब नाली बनाउने, केही भागमा सफा गर्ने कार्य बाँकी छ, बिजुली उत्पादनका लागि यी कामले असर गर्दैन, तर २२० केभीको राष्ट्रिय प्रशारण लाइन बनिनसक्दा परीक्षण गरेर बिजुली उत्पादन गर्न नसक्दा समस्या भइरहेको छ ।”

उनका अनुसार सम्बन्धित निकायसँग बुझ्दा एक हप्ताभित्र प्रशारण लाइनको काम सम्पन्न हुने भनिएको छ । “यदि एक हप्ताभित्रमा सम्पन्न भएमा सो पश्चात् हामी १० दिन जति बिजुली उत्पादन परीक्षण, त्यसमा सफल भएमा साउनबाटै बिजुली उत्पादन हुने छ”, उनले भने ।

मस्र्याङ्दी कोरिडोर अन्तर्गतको निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइनको उदिपुरदेखि मध्यमस्र्याङ्दी खण्डको छ किलोमिटर खण्डमा तार तान्ने काम सम्पन्न भइनसक्दा बिजुली परीक्षण गर्न नसकिएको आयोजनाले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । यस आयोजनाले पेनस्टक पाइप, बाँध, आयोजनाको ७१५ मिटर लामो अर्को पेनस्टक पाइप जडानको काम, विद्युतगृहको सिभिल संरचनाको काम पनि सम्पन्न भइसकेको जनाएको छ ।