५१ प्रतिशतले घट्यो शिवम् सिमेन्ट्सको नाफा
वि.सं.२०७९ साउन ३० सोमवार १०:२९
shares

काठमाडौं, ३० साउन । शिवम् सिमेन्ट्स लिमिटेडको नाफा गत वर्ष उल्लेख्य रुपमा घटेको छ । कम्पनीले सार्वजनिक गरेका गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५१.२० प्रतिशतले नाफा घटेको हो ।
गत आर्थिक वर्ष अन्त्यसम्ममा कम्पनीले ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ४१ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी घटेसँगै खर्च बढेका कारण कम्पनीको नाफा उल्लेख्य घट्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३.६९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ३२१.५२ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी २.१७ प्रतिशत घटेको छ भने कुल खर्च ८.४४ प्रतिशत बढेको छ । ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा १०.६० प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ४४ पैसा घटेर १५ रुपैयाँ ६७ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.५० गुणा रहेको छ ।















