Dhulikhel Eco Banner new

धनुषा २ मा तीन पूर्वमन्त्रीको भिडन्त, कसले मार्ला बाजी ?

4.85K
shares

जनकपुरधाम, २८ असोज । संघ र प्रदेशको चुनावको मिति निजिकिदै जाँदा विभिन्न चुनावी क्षेत्रमा उम्मेदवार दिएका दलका प्रतिनिधिहरुको विषयमा चर्चा हुने गर्दछ । केन्द्रको राजनीतिमा समेत दरिलो उपस्थिति राख्ने व्यक्तिहरु एकै ठाउँबाट चुनावको मैदानमा होमिदा त्यहाँको माहोल अर्कै हुन्छ । यस्तै मध्येको एक चुनाव क्षेत्र हो मधेष पदेशको धनुषा क्षेत्र नम्बर २ । जहाँ तीन जना पूर्व मन्त्री चुनावी मैदानमा रहेका छन् ।

यो निर्वाचना क्षेत्रमा सत्तारुढ गठबन्धनबाटै दुई जनाले उम्मेदवारी दिएका छन् । यसले पनि चुनावमा थप रौनक ल्याएको छ । यो निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका पूर्वमन्त्री रामकृष्ण यादव र सत्तारुढ गठबन्धनबाटै नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा चुनावी मैदानमा उत्रिएका छन् । अन्य क्षेत्रमा एमाले–जसपाबीच गठबन्धन भए पनि यो क्षेत्रमा भने दुवै दल प्रतिस्पर्धामा उत्रिएका छन् । जसपाबाट गंगाराम यादव र एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरियाले पनि यो क्षेत्रको उम्मेदावर रहेका छन् ।

तीन पूर्व मन्त्रीमध्ये दुई जना वा तीनै जना प्रतिनिधि सभामा नआउने सम्भावा पनि रहेको । तीन मध्ये एक पूर्व मन्त्रीले जित निकाले दुई पूर्व मन्त्री पाँच वर्षका लागि संसद बाहिर रहने छन् । तर जसपाका गंगाराम यादव विजयी भएको खण्डमा तीन मन्त्री संसदबाट बाहिर बस्नु पर्ने अवस्था देखिन्छ ।

स्थानीय तहको मतपरिणामलाई आधारमा मान्ने हो भने यो क्षेत्रमा कांग्रेस अगाडि छ । दोस्रोमा एमाले र तेस्रोमा जसपा देखिएको छ । यो क्षेत्रमा कांग्रेसका यादवलाई लोसपा र माओवादी केन्द्रको पनि समर्थन रहेको छ । जसका कारण उनको सम्भावना बढी देखिन्छ ।

एकीकृत समाजवादीबाट उम्मेदवार बनेका झा २०७० र २०७४ सालको चुनावमा पराजित भएका उम्मेदवार हुन् । कांग्रेसबाट उम्मेदवार बनेका यादव दुई पटक मन्त्री र एक पटक सार्वजनिक लेखा समितिका सभापतिमा भइसकेका छन् । रामकृष्ण यादव २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका अरगरियासँग पराजित भएका थिए । यादवले मन्त्री हुँदा यो क्षेत्रमा गरेको विकास र गठबन्धनको सहयोगमा चुनाव जित्ने दाबी गरेका छन् ।

२०७४ सालको निर्वाचनमा विजयी भएका एमालेका अरगरिया भने फेरि राम्रो मतान्तरका साथ निर्वाचित हुने विश्वासमा छन् । ‘अघिल्लो पटक पार्टीको संगठन नै नहुँदा पनि जनताले जिताए,’ अरगरियाले भने, ‘यसपालि पार्टीको राम्रो संगठन छ । पटक–पटक मन्त्री भएकाहरूले भन्दा बढी काम गरेको छु । जनताले त्यसको मूल्यांकन गरेर मतदान गर्छन् ।’

तर, एमालेका पुराना नेता गंगाराम यादव जसपाबाट उम्मेदवार भएकाले मत बाँडिने सम्भावना पनि उतिकै छ । जसपाका उम्मेदवार यादवले भने जनताले विश्वास गरेर यसपटक आफूलाई जिताउने बताउँदै आएका छन् । २०७४ सालको निर्वाचनमा अरगरियाले ३२ हजार ४४ मत पाउँदा रामचन्द्र झाले १८ हजार ७१५ र रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए ।

यो निर्वाचन क्षेत्रको प्रदेश सभा (क) मा लोसपाबाट सञ्जय साह र (ख) मा माओवादी केन्द्रबाट श्यामसुन्दर यादव उम्मेदवार छन् । यसैगरी नेकपा एसले प्रदेशसभा (क) बाट शैलेन्द्र यादव र (ख) बाट रामनारायण साहलाई उम्मेदवार बनाएको छ ।

टिकटकै लागि एमाले परित्याग गरी जसपा छिरेका गंगाराम यादव एक्लाएक्लै चुनावी मैदानमा उत्रेका छन् । जसपाबाट प्रदेश (क) मा शैलेन्द्र यादाव र प्रदेश (ख) मा रामअशिष यादव उम्मेदवार रहेका छन् । एमालेले प्रदेशसभा (क)मा लखन दास र (ख) मा सञ्जीव झालाई उम्मेदवार बनाएको छ ।