‘राम्रा-राम्रा गीतमा डान्स गरेर विरोध गर्छौं’
वि.सं.२०७९ फागुन ९ मंगलवार १२:३५
shares

काठमाडौं, ९ फागुन । व्यवसायी दुर्गा प्रसाईंले आफूहरु शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने बताएका छन् । मंगलबार आर्थिक मिडिया सञ्चालक संघ (इमान) सँगको छलफलमा प्रसाईंले २० गते देखि आन्दोलन गर्ने र त्यो आन्दोलन सिस्टमलाई सहि दिशामा ल्याउनका लागि गर्न लागिएको बताएका हुन् ।
‘हामीहरुले २० गतेदेखि शान्तिपूर्ण रुपमा आन्दोलन गछौँ, राम्रा राम्रा गीत बजाएर डान्स गरेर विरोध गर्छौँ,’ उनले भने, ‘हामीले ढुङगा हान्ने काम गर्दैनौ सटर बन्द गर्ने र सडकमा आएर डान्स गर्ने हो ।’ यो आन्दोलनमा ७७ जिल्लाबाट व्यवसायीहरु आउने उनको भनाइ थियो । ‘लघुवित्तका कारण घरमा बस्ने अवस्था छैन, जंगलमा बस्नुभन्दा राजधानीमा नै बस्न आउनका लागि मैले सबैलाई आग्रह गरेको हु,’ प्रसाईंले भने ।
अहिले देश ५५ जना व्यापारी र १० जना नेताको कब्जामा रहेको भन्दै यो अवस्थाबाट देशलाई जोगाउनका लागि आन्दोलन गर्नु परेको उनको भनाइ थियो । आफूहरु बैंकको विरोधी नभएको भन्दै सिस्टमको विरोधी रहेको उनले बताए । अभियान सञ्चाल गरेपछि बैंकको सिस्टममा केही परिवर्तन आएको पनि उनले सुनाए । ‘अभियान सुरु हुनुभन्दा पहिले बैंकले फोन गरेर खाए पछि तिर्नु पर्दैन भन्ने गरेका थिए । अहिले फोन गरेर सन्चो विसन्चो सोध्ने गरेका छन्,’ उनले सुनाए ।
बैंकहरुले सार्वजनिक बिदाको दिन राति १० बजे पनि फोन गरेर ऋणीलाई दुःख दिइरहेको अवस्थामा यो तरिका ठिक भएन भन्ने हो । ‘ऋण लिएपछि तिर्नु पर्छ भन्ने विषयमा म क्लियर छु,’ उनले भने । त्यस्तै झालेमाले झण्डाभन्दा नेपालको झण्डा बोकेर अघि बढ्नु पर्ने उनको भनाइ थियो ।

















