Dhulikhel Eco Banner new

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल समुहको टीम घोषणा सोमबार

5.63K
shares

काठमाडौं, १९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले सोमबार आफ्नो टीम घोषणा गर्ने भएको छ । सो समुहले सोमबार दिउँसो ३ बजे हेरिटेज गार्डेन सानेपाबाट आफ्नो टीमको उम्मेदवारी घोषणा गर्न लागेको हो ।

सो समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरु सरकारसँग जोडदार रुपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफु पुनः सोही समुहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका छन् । यस्तै बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् भने एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य रहेका छन् । उक्त समुहले सोमबार पदाधिकारीको मात्रै टीम घोषणा गर्ने भएको छ ।

हाल जिल्ला तथा नगर, वस्तुगत र एसोएिट्स सबै समुहको सदस्यको समेत उम्मेदवार टुङ्गो लगाईसकेको सो समुहले मनोनयम दर्ता पछि मात्रै सदस्यहरु सहितको टीम घोषणा गर्ने भएको छ । ‘हामीले आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र सदस्यहरु सबै सहितको टीम बनाइसकेका छौं,’ सो समुहका एक जिम्मेवार व्यक्तिले भने, ‘तर सोमबार वरिष्ठ उपाध्यक्ष र क्षेत्रगत उपाध्यक्षको मात्रै उम्मेदावारी घोषणा गर्दै छौं ।’

महासंघको विधान अनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएट्सबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिनेछन् । ‘हामीले ६० प्रतिशत पुराना जितेका तथा यस अघि उठेका र ४० प्रतिशत नयाँ साथीहरुलाई समावेश गरेर सदस्यहरुको टुङ्गो लगाएका छौं,’ उनले भने ।

जिम्मेवार निजी क्षेत्र समृद्ध अर्थतन्त्र भन्ने मुल नाराका साथ उम्मेदवारी दिन लागेको समेत समुहले व्यवसायिक हकहितलाई मुख्य एजेन्डा बनाएको छ । अहिलेको अवस्थामा व्यवसायिक हकहितका लागि महासंघमा कुशल नेतृत्व आवश्यक भएको भन्दै त्यसका लागि अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सारथी भएर काम गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको उमेशलाल श्रेष्ठले बताएका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहलाई महासंघको पूर्व अध्यक्ष चण्डीराज ढकाल, विनोद बहादुर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत समेतको साथ रहेको सम्बद्ध जिल्ला अध्यक्षहरु बताउँछन् । साथै महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफुलाई साथ रहेको उमेशलाल श्रेष्ठले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।