मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे सीबीफीनको असन्तुष्टि
वि.सं.२०८१ मंसिर १४ शुक्रवार १६:४८
shares

काठमाडौं, १४ मंसिर । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे असन्तुष्टि जनाएको छ । परिसंघले मौद्रिक नीतिले लिएका लक्ष्यप्रति प्रतिबद्धता जनाउँदै मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम गर्न सकारात्मक सुधार आएको बताए पनि आन्तरिक आर्थिक सूचकहरू भने अझै शिथिल रहेको उल्लेख गरेको हो ।
वित्तीय क्षेत्रमा रहेको पर्याप्त तरलता, न्यून ब्याजदर र सार्वभौम साख मूल्यांकनमा नेपालले प्राप्त गरेको नतिजाले लगानी विस्तार, कर्जा प्रवाह तथा पुँजी परिचालनको अवसर सिर्जना भएको अवस्थालाई मध्यनजर गर्दै अर्को त्रैमासिक समीक्षामार्फत सहज नीति र उपायहरू अवलम्बन गरिने विश्वास समेत परिसंघले व्यक्त गरेको छ ।
यो समीक्षालाई सीबीफीनले ‘पर्ख र हेर’को रणनीति ठानेको छ । अर्थतन्त्रका आन्तरिक सूचकहरू शिथिल हुँदै गएको परिस्थितिमा गत साउनमा आएको नीतिले आमरुपमा आशा र उत्साह जगाएको भन्दै परिसंघले अहिलेको अवस्थगामा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्तिमा वृद्धि भइरहेको र अपेक्षाकृत कर्जा लगानी नभएको र आर्थिक गतिविधिले गति लिन नसकिरहेको अवस्थामा यी घटनाको नीतिगत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको परिसंघको तर्क छ ।



















