नेशनल लाईफ इन्स्योरेन्सको ३८औँ वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८२ पुस ३० बुधवार १४:१६
shares

काठमाडौं, ३० पुस । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारण सभा कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले समीक्षा वर्ष २०८१र८२ मा विश्व अर्थतन्त्र विभिन्न चुनौतीका बाबजुद लचिलो अवस्थामा रहेको बताइन्। कोभिड महामारी तथा भूराजनीतिक कारणले बढेको विश्व मुद्रास्फीति क्रमशः घट्दै गएको र अधिकांश केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अवलम्बन गरेको उनको भनाइ थियो।
राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान अनुसार आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धि दर ४।६१ प्रतिशत रहने प्रक्षेपण गरिएको भए पनि आगामी वर्ष बढ्दो राजनीतिक तथा सामाजिक अनिश्चितताले वृद्धिदरमा संकुचन आउन सक्ने आकलन गरिएको उनले जानकारी दिइन्।
कम्पनीको व्यवसाय समीक्षा वर्षमा सन्तोषजनक रहेको जनाउँदै अध्यक्ष सिंहले कुल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २ अर्ब २५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ पुगेको बताइन्। सो अवधिमा सञ्चालनबाट १ अर्ब ४९ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ खुद थप रकम बीमा करार दायित्वमा सारिएको र कुल बीमा करार दायित्व १८.८३ प्रतिशतले वृद्धि भई ९ अर्ब ४५ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ पुगेको जानकारी दिइयो। यसै अवधिमा कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति, आंशिक अवधि समाप्ति, समर्पण मूल्य तथा अन्य दाबी भुक्तानी शीर्षकमा ९ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरेको छ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार सुरक्षित, पारदर्शी तथा दीर्घकालीन लगानीमा प्राथमिकता दिँदै आएको र यसबाट बीमितको हित संरक्षण हुने विश्वास व्यक्त गरिएको छ। समीक्षा वर्षमा कम्पनीको कुल लगानी ११.०४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७९ अर्ब ९० करोड २० लाख रुपैयाँ पुगेको छ। सो अवधिमा लगानीबाट औसत ८.७६ प्रतिशत प्रतिफल प्राप्त भएको छ।
लगानी विविधीकरणको क्रममा कम्पनीले हिमालयन बैंक लिमिटेडको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक शेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५२ रुपैयाँमा खरिद गरी बैंकमा कम्पनीको स्वामित्व १३.६१ प्रतिशत पुर्याएको जनाएको छ। साथै, सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले आवश्यक इजाजतपत्र प्राप्त गरी सञ्चालनमा आएको र पहिलो पटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको जानकारी दिइयो।
कम्पनीले इटहरी शाखाको आफ्नै जग्गामा आधुनिक व्यावसायिक भवन निर्माण प्रक्रिया अघि बढाएको तथा प्रविधिमैत्री सेवा विस्तार र कर्मचारी तालिममा लगानी बढाइरहेको जनाएको छ।सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले खुद नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा छुट्याएको छ। समीक्षा वर्षमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई २५ लाख रुपैयाँ, काठमाडौं बाल स्वास्थ्य संस्थानलाई २५ लाख रुपैयाँसहित विभिन्न शीर्षकमा कुल ७० लाख २५ हजार ५०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि चुक्ता पुँजी ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ रुपैयाँमा ८।५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६९ करोड १६ लाख ४९ हजार ३२५ रुपैयाँ पुगेको छ।
अध्यक्ष सिंहले आगामी दिनमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आम नागरिकको जीवन बीमा आवश्यकताको परिपूर्ति गर्ने प्रमुख बीमकको रूपमा अग्रणी भूमिका निर्वाह गर्दै जाने विश्वास व्यक्त गरिन्।
















